Logo

१४ साउन,रौतहट । गौर घटनाका दोषीलाई कारबाहीको माग गर्दै आइतबार रौतहटको चन्द्रनिगाहपुरमा बृहद् मोटरसाइकल र्‍याली निकालिएको छ। त्यस वेला २८ जनाको ज्यान लिने गरी भएको हत्याका दोषीमाथि हालसम्म कारबाही नभएकाले दबाव दिने उद्देश्यले पूर्वघोषित कार्यक्रमअन्तर्गत चन्द्रपुर नगरक्षेत्रमा मोटरसाइकल र्‍याली निकालिएको हो ।

रौतहटको मध्य बजार गरुडा नगरपालिका बजारबाट निस्केको र्‍यालीले पूर्वपश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुरको बजार र मुख्य चोक क्षेत्रमा परिक्रमा गरी चोकमा रहेको पार्कमा कोणसभा गरिएको थियो।

गौर नरसंहारमा मारिएकाहरूका परिवारले शनिवारदेखि चन्द्रनिगाहपुरमा सुरु गरेको धर्नास्थलमा आयोजना भएको कोणसभालाई सम्बोधन आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद न्यौपाने, महासचिव उपेन्द्र साह, स्थायी समिति सदस्य मनोज यादवलगायतका नेताले सम्बोधन गर्दै गौर घटनाका दोषीलाई कारबाही गर्न सरकारसमक्ष माग गरे।

यसअघि मृतकका परिवारले सदरमुकाम गौरमा र्‍याली र गत आइतबारदेखि चन्द्रनिगाहपुरमा अनिश्चितकालीन धर्ना दिँदै आएका छन्। १७ वर्षअघि विसं २०६३ साल चैत ७ गते रौतहटको सदरमुकाम गौरस्थित राइस मिल चौरमा माओवादी र तत्कालीन फोरम (हाल जसपा)का बीचमा भएको झडपमा २७ जनाले घटनास्थलमै र एकजनाले उपचारका क्रममा ज्यान गुमाएका थिए।

तत्कालीन मधेशी जनाधिकार फोरम र माओवादी निकट मधेशी राष्ट्रिय मुक्ति मोर्चाको बीचमा झडप तथा गोली हानाहान भएको थियो। गौर घटनालाई लिएर अहिले पनि राजनीतिक आरोप-प्रत्यारोप चलिरहेको छ। गौर घटनामा मारिएकालाई न्याय दिनुपर्ने भन्दै रौतहट क्षेत्र नम्बर तीनका संघीय सांसद प्रभु साह अध्यक्ष रहेको आम जनता पार्टी पंक्ति यो आन्दोलनको समर्थनमा छ भने सो घटनामा सांसद प्रभु साह लगायत अन्य सबैलाई कारबाही हुनुपर्ने भन्दै माओवादी बाहेकका सत्ता गठबन्धनका अन्य विभिन्न राजनीतिक दल लागेका छन्।


सम्बन्धित समाचार