Logo

१६ साउन,वीरगञ्ज । पर्सामा लामो समयको खडेरीले पानी नपर्दा रोपाइँका लागि किसानले दमकलको प्रयोग गर्न थालेका छन् । यसरी किसानले खेतमा पानी लगाउदाँ दमकलको चर्को शुल्क तिर्न बाध्य भएको गुनासो गरेका छन् ।

दमकलको भाडा प्रतिघण्टा चारसय रुपैँया तथा बिजुलीबाट चल्नेको मूल्य प्रतिघण्टा तीन सय रुपैँया तिर्नुपरेको पोखरिया–४ का सन्तोषप्रसाद चौहानले गुनासो गर्नुभएको छ ।

स्थानीय तहले कुलो सफा नगर्दा किसान भने मारमा छन् । उनीहरु दमकलको भरमा खेतमा पानी हाल्न बाध्य भएका हुन् । आकासे पानीको अभावमा रोपाइँ गर्न ढिला हुँदा यसवर्ष बाली उत्पादन घट्ने अवस्था देखिएको पर्साको जगतपुरका सुरेशप्रसाद पटेलले जानकारी दिनुभयो । मधेस प्रदेशमा गत वर्ष पानीको सुविधा भएपनि मलको अभाव थियो ।

तर यसवर्ष भने सरकारले बेलैमा मल उपलब्ध गराए पनि वर्षा नहुँदा किसानलाई समस्या भएको छ । पर्सामा साउनको दोस्रो साता वित्दा समेत ५० प्रतिशत मात्र धान रोपाइँ भएको कृषि ज्ञानकेन्द्रका बाली विकास अधिकृत सुरेशप्रसाद चौरसियाले जानकारी दिनुभयो । ग्रामीण भेगमा आकासे पानी नपरेकाले रोपाइँ गर्न ढिला भएको र उत्पादनमा कमी आउने उहाँको भनाइ छ ।

 


सम्बन्धित समाचार