Logo

फाइल तस्बिर

१८ साउन, वीरगञ्ज । गौर हत्याकाण्ड पीडित संघर्ष समितिले आन्दोलनलाई काठमाडौं केन्द्रित बनाउने चेतावनी दिएको छ । संघर्ष समितिकी संयोजक रुपसागर देवी उपाध्यायले विज्ञप्ति जारी गर्दै राज्य उदासिन रहेको भन्दै आन्दोलनलाई काठमाडौं केन्द्रित बनाउन बाध्य हुने चेतावनी दिएकी हुन् ।

रौतहटमा जारी आन्दोलनलाई मधेशका थप जिल्लाहरुमा उठान गर्ने निर्णय समेत बैठकले गरेको छ । संघर्ष समितिलाई सहयोग गरिरहेको प्रभु साह नेतृत्वको आम जनता पार्टीले आज पीडितले मधेश प्रदेशको आठवटै जिल्लाको जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै छन् । १७ वर्षअघि तत्कालीन मधेशी जनअधिकार फोरम र नेकपा माओवादीले गौरको राइसमिलमा राखेको छुट्टाछुट्टै कार्यक्रममा झडप हुँदा २८ जना माओवादी कार्यकर्ता मारिएका थिए । जसमा दर्जनौ व्यक्ति घाइते समेत भएका थिए ।

तत्कालीन मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई घटनाको मुख्य अभियुक्त बनाउँदै २५३ जनामाथि जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो । तर हालसम्म प्रशासनले कारबाही प्रक्रिया अघि नबढाएको भन्दै पीडितहरु आन्दोलनमा उत्रेका छन् । दोषीहरुलाई अविलम्ब पक्राउ गरी कारबाहीको माग गर्दै संघर्ष समितिले साउन १२ गतेदेखि अनिश्चितकालीन आन्दोलन थालेको छ ।

साउन १३ गतेदेखि रौतहटको चन्द्रनिगाहपुरमा पीडित परिवारहरु आमरण अनशनमा बसेका छन् ।


सम्बन्धित समाचार