Logo

१८ साउन, वीरगञ्ज । संवैधानिक परिषद्को बैठकले विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ।

बिहीबार साँझ बसेको बैठकले उनको नाम सिफारिस गरेको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले जानकारी दिए।

गत असार १ गते नियुक्त प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि यही साउन २० गते सकिँदै छ।

अघिल्लो प्रधानन्यायाधीशको पदावधि सकिन एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने प्रावधान अनुसार उनको नाम सिफारिस भएको हो।

प्रधानन्यायाधीशमा सिफारिस विश्वम्भरप्रसाद श्रेष्ठ ४१ वर्षअघि अस्थायी नियुक्तिमा न्याय सेवामा प्रवेश गरेका थिए। कैलालीको धनगढीका श्रेष्ठ २०३८ चैत २७ गते तत्कालीन कानुन तथा न्याय मन्त्रालयमा अस्थायी शाखा अधिकृत नियुक्त भएका थिए।

त्यसको दुई वर्षपछि सुदूरपश्चि क्षेत्रीय अदालतमा तृतीय श्रेणीको शाखा अधिकृत भएर गए। त्यसपछि तत्कालीन केन्द्रीय क्षेत्रीय अदालतमा काम गरे।

२०४४ फागुन १४ गते द्वितीय श्रेणीमा बढुवा भए। बढुवा भएसँगै सूदुरपश्चिम क्षेत्रीय अदालतमा सहायक सचिवका रुपमा कार्यरत रहे। सहायक सचिवमा तीन महिना काम गरेपछि उनलाई न्यायाधीश नियुक्त गरिएको थियो।

२०४५ जेठ ३ गते श्रेष्ठ जिल्ला न्यायाधीश नियुक्त भएका थिए। उनले द्वितीय श्रेणीको न्यायाधीशका रुपमा जिल्ला अदालत दार्चुलाबाट सेवा सुरु गरे। त्यसको दुई वर्षपछि डडेलधुराको न्यायाधीश भए।

डडेलधुरापछि २०४८ कात्तिक २३ गते न्यायिक सेवा तालिम केन्द्रमा सरुवा भएका थिए। तालिम केन्द्रमा श्रेष्ठ सहायक प्रशिक्षण प्रमुखका रुपमा कार्यरत थिए।

२०४९ चैत १ गते पहिलो पटक सर्वोच्च अदालत प्रशासनमा सेवा गरेका थिए। तर त्यतिबेला उपरजिस्ट्रार भएका श्रेष्ठ एक वर्षपछि पुनः न्यायाधीशका रुपमा फर्किए। सर्वोच्चमा ठीक एक वर्ष काम गरेपछि उनलाई २०५० सालमा न्यायाधीश नियुक्त गरेर जिल्ला अदालत उदयपुरको जिम्मेवारी दिइएको थियो।

दुई वर्ष उदयपुरमा कार्यरत रहेपछि मकवानपुर सरुवा भए। मकवानपुर जिल्ला अदालतमा पनि दुई वर्ष कार्यरत रहे। त्यसपछि जिल्ला अदालत झापामा सरुवा भएका थिए।


सम्बन्धित समाचार