Logo

१९ साउन, चितवन । चितवनको देवघाटस्थित नारायणीमा अस्तु सेलाउन गएका दाङका एक जना युवक नदीमा बगेर बेपत्ता भएका छन ।

प्रहरीका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ कौवापुरका ३२ वर्षीय लोकेन्द्र भुसाल शुक्रबार बिहान नदीमा अस्तु सेलाउने क्रममा बगेर बेपत्ता भएका हुन । उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

भुसाल आफ्नो मामाका छोरा रेमन्त बस्नेतको अस्तु सेलाउन देवघाट पुगेका थिए । रेमन्त गत साउन १५ गते सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि भारतको लखनउस्थित अस्पताल लगिएको थियो। उपचारका क्रममा बिहीबार उनको मृत्यु भएको थियो।शव ल्याएर तुलसीपुर १२ बबई घाटमा अन्त्येष्टि गरिएको थियो।

इलाका प्रहरी कार्यालय देवघाटका सहायक हवल्दार वीरेन्द्र तामाङले शुक्रबार बिहान ७ बजेर १९ मिनेटमा भुसाल नदीमा बेपत्ता भएको र खोजी कार्य जारी रहेको बताए।

बेपत्ता भुसालको खोजीका लागि गोताखोर पनि बोलाइएको छ। भुसाल नुहाउनका लागि नदीमा पसेका थिए।

‘किनारमा मोबाइल, पर्स र कपडालगायत राखेर नुहाउन भन्दै उहाँ नदी पस्नुभएको रहेछ,’ उनले भने, ‘त्रिशूली र कालीगण्डकी मिसिने दोभानबाट उहाँलाई बगाएको देखिन्छ, पुरोहितले दोभानतिर नजानु भनेका थिए रे, जानुभएछ।’

भुसाल जाजरकोटस्थित चौरजहारीको एक विद्यालयमा पढाउने गर्थे। उनका परिवार बाँकेस्थित कोहलपुरमा डेरा लिएर बस्ने गर्छन्।


सम्बन्धित समाचार