Logo

१९ साउन,सेढवा ।पर्साको ग्रामीण क्षेत्रका बासिन्दाहरू साउन महिनामा विभिन्न धार्मिक एवं पर्यटकीय स्थलमा भ्रमण गर्न जाने क्रम बढेको छ । अधिकाशं किसानले वर्षेबाली धान रोपाइँ गरेर सकाएका कारण उनीहरू रोपाइपछि नेपाल र भारतका धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणमा निस्किन थालेका हुन् ।

साउनमा विभिन्न स्थानका भगवान शिवको धर्म स्थल तथा शक्तिपीठहरूको दर्शन गर्न किसानहरू खेतीपातीको झन्झटबाट मुक्त भएपछि धार्मिक यात्रामा निस्किएका हुन् । अहिले सामुदायिक विद्यालयमा पनि वर्षे बिदा भएकोले शिक्षकहरू पनि भ्रमणमा छन् । आर्थिक रूपमा सम्पन्न शिक्षक, विद्यार्थीहरु पनि राजधानी काठमाडौं, पर्यटकीय गन्तव्य पोखरा, तानसेन, बुटवल, भैरहवा, लुम्बिनी, धरान, इलाम, झापालगायतका ठाउँहरूमा भ्रमणका लागि गएका छन् । यसै महिनामा भारतको प्रसिद्ध बाबाधाम, बासुकिनाथ, अयोध्या, बनारस, कोलकाता, जगरनाथपुरी, गङ्गासागर, प्रयागराज, बैष्णोदेवी लगायतका धार्मिक स्थलहरूमा जाने गर्छन् ।

यस वर्ष नेपाल र भारतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्सा जिल्लाबाट जानेहरूको सङ्ख्या बढेको अनुमान गरिएको छ । जीराभवानी गाउँपालिका–२ का बिजय यादवले करिब ४० जना धार्मिक यात्रीहरूलाई लिएर भारतका विभिन्न स्थानको भ्रमणका लागि प्रस्थान गरेको बताउनुभयो ।

उहाँले बिहार, उत्तर प्रदेश, उत्तराखण्ड, दिल्ली, पंजाब लगायतका राज्यका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गराउने जानकारी दिनुभयो । भ्रमणका लागि भारतीय नम्बरको गाडी लिई यात्रीहरूलाई भारत लगिएको यादवको भनाइ छ । यस्तै धोबिनी गाँउपालिका वडा नं १ भिखमपुर निवासी महेश प्रसाद कुर्मीले सामाजिक संजाल मार्फत १० दिनका लागि भारत भ्रमणमा आएको उल्लेख गर्नुभएको छ ।

बर्षभरि नै कामकाजमै व्यस्त हुने भएकाले एकपटक देवीदेवताको दर्शन गर्ने तथा रमाइलो गर्न आवश्यक रहेको कुर्मीले बताउनुभयो । भ्रमणका क्रममा गोरखपुर, अयोध्या, कानपुर, गाजियाबाद, आगरा, लखनउ, हरिद्वार, ऋषिकेश लगायतका स्थानहरूको भ्रमण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै भारतको दार्जिलिङ्ग, सिक्किम र वैष्णोदेवीको दर्शनका लागि पनि मानिसहरू गइरहेका छन् । ग्रामीण क्षेत्रका मानिसहरू आर्थिक अवस्था अनुसार धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको वार्षिकरूपमा अवलोकन भ्रमण गर्दै आएका छन् ।

वर्षभरिको तनाव भ्रमणबाट मेटिने अभिप्रायले सामर्थ अनुसारको यात्रा गर्ने क्रम पहिलेदेखि नै हुँदै आएको छ । साउन महिनामा जिराभवानी गाउँपालिका अन्तर्गतको बाबा बटेश्वरनाथ कावरिया सङ्घको आयोजनामा सयौँको संख्यामा कावरियाहरुले त्रिवेणी जल भर्न जाने कार्यक्रम छ ।

यसका साथै पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत दुधेश्वर महादेव मन्दिर, रामभौरी भाथा र ठोरीको भ्रमण गर्ने पनि बढेका छन् । हुलाकी सडक निर्माण भएकोले पछिल्लो समय ठोरीको भ्रमण गर्नेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।


सम्बन्धित समाचार