Logo

२१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सम्पन्न गर्नुअघि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटरमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले बैठकमा उठाएका प्रश्नको जवाफ तयार पार्नेबारे छलफल भइरहेको एक नेताले बताए । साथै संगठनात्मक कार्यविभाजन, विधान अधिवेशन लगायतका विषयबारे पनि पदाधिकारी बैठकमा छलफल भइरहेको छ ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक साउन १७ गतेदेखि प्रज्ञा भवन कमलादीमा जारी छ । बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको मौखिक प्रतिवेदन र उनीलगायत शीर्ष नेताहरूको जीवन शैलीलाई लिएर गम्भीर प्रश्नहरू उठाएका छन् । साथै, केहीले पार्टी अध्यक्ष प्रचण्डको जबर्जस्त प्रशंसा समेत गरेका छन् । बैठकमा उठेका प्रश्नको जवाफ आज अध्यक्ष प्रचण्डले दिएपछि बैठक समापन हुने छ । आज अन्तिम दिनको बैठक दिउँसो १ बजे बस्दै छ ।

माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले अनलाइनखबरसँग भने, ‘केन्द्रीय समिति बैठकमा उठेका जिज्ञासाहरुको अध्यक्षले आज जवाफ दिनुहुन्छ । बैठकमा पेस भएका प्रतिवेदन पास हुन्छ र केही संगठनात्मक निर्णयहरु गरेर बैठक समापन हुन्छ ।’


सम्बन्धित समाचार