Logo

२१ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमालेबाट विद्रोह गरेर बनेको पार्टी दक्षिणपन्थी बनेको आरोप लगाएका छन्।

जारी स्थायी कमिटी बैठकमा १६ पृष्ठको दस्तावेज प्रस्तुत गर्दै उनले एमालेबाट विद्रोह गरेको शक्ति अहिले आफूहरूसँग नभएको बताएका छन्।

खनालले माओवादी र कांग्रेसले आफ्नो दललाई प्रयोग गरेर सत्तामा पुग्ने भर्‍याङमात्र बनाएको गुनासो गरेका हुन्। उनले जारी बैठकमा १६ पेज लामो दस्ताबेज पेस गरेका छन्। दस्ताबेजमा पार्टी नेतृत्वको कार्यशैलीदेखि नेता कार्यकर्ताको पलायन र पार्टीको आगामी कार्यदिशाको बारेमा समेत उल्लेख गरेका छन्।

‘दस्ताबेजमा खनालले स्थानीय निकायको चुनाव शीर्षकमा लेखेका छन्, ‘नेपाली कांग्रेस र माओवादी दुवैले हाम्रो पार्टीलाई देशैभरि धोखा दिए । हाम्रो पार्टीलाई मतदातामात्र बनाए। त्यसले हाम्रो पार्टीको बन्दै गरेको क्रान्तिकारी छवि र साख नराम्ररी गिराई दियो। कार्यकर्ताहरु देशव्यापी रुपमा निरास भए । त्यसपछि “बरु एमाले तिरै जाने” भन्ने चिंतनको विकास हुन थाल्यो र पलायन बढदै गयो।’

पार्टी यतिबेला माथि रावणको टाउको जस्तो र तल सुक्दै झीनो भएर उभिन पनि गाह्रो पर्ने अवस्थामा भएको महसुस भएको बताएका छन्। त्रिपाइ जस्तो माथि फुकेको तल सुकेको पार्टी संगठन भएको उनले बताएका छन्।

‘हाम्रो पार्टी दक्षिणपन्थी र माओवादीको पिछलग्गु भएर अघि बढ्यो, कार्यकर्तामा बरु एमालेतिरै जाने चिन्तन विकास भयो,’ खनालको डकुमेन्टमा भनिएको छ, ‘चुनाव वर्गसंघर्षकै अभियान हो, तर हाम्रो पार्टीले चुनावलाई वर्गसंघर्षको रुपमा देखेन ।’

खनालले कांग्रेससँगको गठबन्धनले दक्षिणपन्थीहरुलाई लगातार फाइदा पुगेको भन्दै यसबाट उनीहरू वामपन्थीहरूलाई विभाजन गर्न र त्यसको एक हिस्सालाई उपयोग गरेर आफ्नो शक्ति वृद्धि गर्न सफल भइरहेको किटान गरेका छन्।

उनले यसरी वामपन्थी समूहहरु दक्षिणपन्थी शक्तिका प्यादा र बैशाखी जस्तो बन्दा आफ्नो साख निरन्तर गिराइरहेकाले यस्तो डरलाग्दो दक्षिणपन्थी गल्तीबाट पार्टीलाई बचाउनुपर्ने बताएका छन्।

हेर्नुहोस् पूर्ण पाठ : 


सम्बन्धित समाचार