Logo

२४ साउन, वीरगञ्ज । गत सोमबारदेखि सुरु भएको अविरल वर्षाका कारण मधेस प्रदेशमा १५५ वटा घरधुरी डुबानमा परेका छन् । मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरका अनुसार पर्सा, रौतहट र महोत्तरीमा खोलामा आएको बाढीका कारण घरहरू डुबानमा परेका हुन् ।

मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले पर्सामा २०, रौतहटमा ७५ र महोत्तरीमा ६० वटा घरधुरी डुबानमा परेको जानकारी दिए । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. ११ स्थित डोम बस्ती, रौतहटको फतुवाविजयपुर नगरपालिका वडा नं. ८ बुनियाँद गाउँ डुबानमा परेको छ ।

यस्तै, रौतहटकै दुर्गाभगवती गाउँपालिका ५ बडहर्वा टोलमा बागमती खोलाको बहाव बढ्न गइ बस्तीमा पानि पसेको र महोत्तरीको लोहारपट्टी नगरपालिका ५ डठौरा गाउँ र बलवा नगरपालिका ११ भगवतीपुर स्थितमा अविरल वर्षाको कारण रातु खोलामा पानीको बहाव बढ्न गइ खोला रोक्नको लागि लगाएको तदबन्द १२ मिटर फुटेर भत्कँदा बस्तिमा पानी पसेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

यस्तै, बाढी तथा डुबानका कारण २ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन् । रौतहटमा ११ र सर्लाहीमा ७२ जना गरी ८३ जनाको सकुशल उद्दार गरिएको प्रदेश प्रहरीले जनाएका छन् । बाढी तथा डुबानका कारण सडकहरु समेत अवरुद्ध भएको हो ।


सम्बन्धित समाचार