Logo

२४ साउन,चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले नारायणगढ मुग्लिन सडकखण्डको पहिरोमा सवारी व्यवस्थापन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको आरएटी नामको समूह परिचालन गरिएको भन्दै प्रकाशित सामाजिक संजाल पोस्टहरुप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

प्रशासनले राजमार्गको पहिरो, ट्राफिक जामजस्ता घटनाको व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरू सक्षम रहेको बताउँदै सांकेतिक रुपमा यस्ता काममा कुनै पार्टीका समूहहरु आवश्यक नरहेको जनाउ दिएको छ । मंगलबार कालीखोला नजिकै लेदोसहितको पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको थियो ।

यही अवरोधका बेला यहाँ जाममा फसेका सवारी साधनलाई व्यवस्थापन गर्न र जाम खुलाउन भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले खटाएको आरएटी नामक समूह परिचालन गरिएको थियो । सामाजिक संजालमा पोस्ट गरिएका तस्वीरमा यो समूहका मानिसहरुले सुन्तला रंगको ज्याकेटमा आरएटी लेखेर वाकीटकी संचार पकरणसहित सडकमा परिचालित भएको देखाइएको थियो ।

जिल्ला प्रशासन कार्यालय चितवनले भने उक्त पहिरो सुरक्षा निकाय, सडक डिभिजन कार्यालयसहितका राज्यका अंगबाट भएका स्रोत, साधन र जनशक्ति प्रयोग गरी पन्छाएको र ट्राफिक व्यवस्थापन गरिएको बताउँदै भनेको छ ‘कुनै अमुक दल तथा सो अन्तर्गतका संगठनको सहयोग नलिइएको, लिन स्वीकृति नदिइएको व्योहोरा यसै सूचनाद्वारा जानकारी गराउँदछौं ।’

प्रशासन कार्यालयले विपद्का यस्ता घटनाको राहत, उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकायलगायत राज्यका अंगहरू सक्षम रहेको बताउँदै रास्वपाका कार्यकर्ताले प्रयोग गरेको संचारको साधन वाकीटकी स्वीकृति लिइएको र दर्तावाल हो होइन छानबिन गर्न प्रहरीलाई निर्देशन पनि दिएको जानकारी दिएको छ ।

विजयी भएको एक सय दिन पुगेको अवसरमा केही दिनअघि रास्वपाका सभापति रहेका चितवन क्षेत्र नम्बर २ का सांसद रवि लामिछानेले नारायणगढ–मुग्लिन सडकमा पहिरो जाँदा उद्धार तथा व्यवस्थापनका लागि ¥यापिड एक्सन टिम (आरएटी) निर्माण गर्ने घोषणा गरेका थिए ।


सम्बन्धित समाचार