Logo

२५ साउन,सर्लाही । सर्लाहीमा शरीरबाट अलग गरेको अवस्थामा युवकको टाउको फेला परेको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका ४ स्थित लखन्देही खोला किनारमा बिहीबार बिहान करिब ८ बजे शरीरबिनाको टाउको मात्र फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए।

‘घाँटीमा धारिलो हतियारले काटेर छिनाएको अवस्थामा टाउको मात्रै फेला परेको छ। हामी त्यो टाउकोबाट छुट्याइएको शरीर खोजिरहेका छौँ’, डीएसपी पञ्जियारले भन्नुभयो । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हरिवनबाट गएको प्रहरी टोलीले घटनाको प्रकृति मुचुल्का तयार गरिरहेको छन्।’

स्थानीयले पुलमुनि शरीरबिनाको मान्छेको टाउको देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शवको सनाखत गर्ने प्रयास गरिरहेको छ। ’अन्दाजी २५ वर्षको जस्तो देखिने युवकको आज बिहानै हत्या भएको जस्तो देखिएको प्रहरीले जनाएको छ।

ती युवकले हल्का दाह्री पालेको जस्तो देखिएको प्रहरीले जनाएको छ। युवकको हत्या सोही ठाउँमा भएको हो वा अन्यत्र हत्या गरेर टाउको मात्रै फालिएको हो, अनुसन्धानपछि मात्रै खुल्ने डीएसपी पञ्जियारले बताउनुभयो ।


सम्बन्धित समाचार