Logo

२७साउन,चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सिर्जना र क्षमता राष्ट्रका पक्षमा प्रयोग गर्न युवालाई अपिल गरेका छन्। चितवनको भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय युवा दिवस, २०२३ का अवसरमा आयोजना गरेको सप्ताहव्यापी समापन कार्यक्रममा आज यहाँ उनले स्वदेश र विदेशमा रहेका लाखौँ युवालाई देशभित्रै विकास निर्माणका कार्यमा जुट्न आग्रह गरे।

प्रधानमन्त्री दाहालले आउने दिनमा नेपालले कोल्टे फेर्दै जाने र विकासले गति लिने विश्वास व्यक्त गरे । उनले भने, ‘नेपालमा हर हालतमा सुशासन, बेथिति र भ्रष्टाचारको अन्त्य हुनैपर्छ, तल परेको समुदायलाई माथि ल्याउने कार्यक्रम ल्याउनुपर्छ।’

नेपाली युवाभित्र अन्तरनीहित सिर्जनात्मक क्षमता र प्रतिभालाई देशको आर्थिक विकास र समृद्धिका निम्ति कसरी सदुपयोग गर्ने भन्नेमा आफ्नो ध्यान गएको उनले बताए । प्रधानमन्त्री दाहालले भने, ‘प्रधानमन्त्रीको हैसियतमा केही दिनदेखि लगातार नै विदेशमा जाने युवा श्रमिकको हकहितको संरक्षण कसरी गर्ने भन्ने विषयमा लागिरहेको छु।’

आफूले युवाका निम्ति योगदानमा आधारित सुरक्षा कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै उनले त्यसमा आजसम्म आउँदा झन्डै तीन लाख विदेशमा रहेका श्रमिक आबद्ध भइसकेको जानकारी आफूलाई प्राप्त भएको बताए । विदेश जाने युवालाई सुरक्षित र सम्मानजनक कामका अवसरका लागि कसरी वातावरण निर्माण गर्ने भन्ने चुनौती रहेको उनको भनाइ थियो।


सम्बन्धित समाचार