Logo

२८ साउन,वीरगञ्ज । विदेशबाट आउने यात्रुका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले मालवस्तुको स्वघोषणा कक्ष सञ्चालनमा ल्याएको छ।

विदेशबाट फर्किएका यात्रुले मापदण्डभन्दा बढी सुन, गरगहना, विदेशी मुद्रा, टिभी तथा मोबाइल फोन ल्याउने र स्वघोषणा नगरी बाहिरिँदा भन्सार छलीअनुसार कारबाहीको भागीदार हुने गरेका थिए। स्वघोषणा कक्ष सञ्चालनपछि यात्रुले आफूसँग भएको मालवस्तुको स्वयं घोषणा गर्न पाउने तथा बढी भएको सामानको भन्सार महसुल बुझाई सजिलै लैजान पाउनेछन्।

विदेशबाट आउने यात्रुले अध्यागमन कक्ष पार गरेपछि भन्सार चेकजाँच एक्सरे मेसिनमा पुग्नुअगावै स्वयं घोषणाको सुविधा पाउने कार्यालयले जनाएको छ। त्यसका लागि भन्सार कार्यालयले नियमित कर्मचारीसहित स्वयं घोषणा कक्षको व्यवस्था गरेको छ। यसअघि त्यस्तो कक्ष नहुँदा यात्रुहरु मापदण्डभन्दा बढी मालवस्तु लिएर जाने र भन्सार तथा प्रहरीको कारबाहीमा परी त्यस्तो मालवस्तुको दोब्बर मूल्यबराबर धरौटी र जरिवाना तथा थुनामा समेत पुग्ने गरेका थिए ।

विदेशबाट नेपाल फर्कने यात्रुले आफ्नो साथमा ल्याउन पाउने सुनका गहना, मोबाइल तथा टेलिभिजनसम्बन्धी पछिल्लो व्यवस्थाअनुसार महिलाको हकमा ५० ग्रामसम्मको सुनको गहनामा भन्सार तिर्नुपर्दैन। यसैगरी, पुरुषको हकमा २५ ग्राम सम्मको सुनको गहनामा भन्सार तिर्नुपर्दैन। एकजना व्यक्तिले महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्रामबाहेक थप दुई सय ग्रामसम्म सुनको गहना भन्सार बिन्दुमा महसुल तिरेर साथमा ल्याउन पाउने व्यवस्था छ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेका अनुसार गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औँठी, बाला, रसायन प्रयोग नगरिएका सुनलाई गहनाको मान्यता नहुने कानुनी व्यवस्था छ।

विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार तिर्नुपर्दैन। श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरूले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन पाउने कानुनी व्यवस्था रहेको प्रमुख पाण्डेले बताए। थप एक थान मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्दछ।

यस्तै, श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्कने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएको नेपाली यात्रुले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार तिर्नु नपर्ने व्यवस्था रहेको छ । तर, श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरी फर्केको भए पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका नेपाली यात्रुले भने ३२ इन्चसम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन पाउँछन्।

यसैगरी, पाँच हजार अमेरीकी डलरभन्दा माथिको विदेशी मुद्रा हुने यात्रुले विमानस्थलमा स्वघोषणा गर्नुपर्दछ । रकम घोषणाको भने कुनै महसुल वा शुल्क बुझाउनु नपर्ने व्यवस्था छ।


सम्बन्धित समाचार