Logo

२९ साउन, वीरगञ्ज । गृह मन्त्रालयले नेपाल प्रहरीमा अधिकृत स्तरको सरुवाको लागि नयाँ मापदण्ड कार्यान्वयनमा ल्याउने भएको छ । नेपाल प्रहरीमा कार्यालय प्रमुखका रूपमा सरुवामा नयाँ मापदण्ड बनाएर कार्यान्वयमा ल्याउन लागिएको हो । नयाँ मापदण्ड कार्यान्वयनमा आउने भएपछि प्रहरी भित्र हलचल मच्चिएको छ ।

नयाँ मापदण्ड बनेसँगै लामो समयदेखि रोकिएको सरुवा अघि बढाउन लागिएको छ । प्रहरी निरीक्षक (इन्स्पेक्टर) देखि प्रहरी उपरीक्षक (एसपी) सम्मको सरुवामा नयाँ मापदण्ड बनाइएको हो । गृह मन्त्रालयले केही दिनअघि स्वीकृत गरेको नयाँ मापदण्डअनुसार प्रहरी कार्यालयलाई क, ख र ग गरी तीन श्रेणीमा विभाजन गरिएको छ ।

यसअघि क र ख गरी दुई मात्र श्रेणी भएकाले सरुवामा समस्या भएपछि मापदण्ड संशोधन गरिएको प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले बताए । मापदण्डमा क श्रेणीको कार्यालयबाट फेरि ‘क’मै सरुवा नगर्ने, कार्यालय प्रमुख रहेको व्यक्तिलाई लगत्तै अर्को कार्यालय प्रमुखमा नखटाउने तथा बढुवालगत्तै कार्यालय प्रमुखमा नखटाउने प्रावधान छन् ।

प्रहरीको सरुवालाई निष्पक्ष र वस्तुनिष्ठ बनाउन मापदण्डमा केही संशोधन गरिएको र संशोधन भएलगत्तै सबै तहका सरुवाको प्रक्रिया अघि बढेको प्रहरी प्रवक्ता कडायतले बताए । प्रहरीमा लामो समयदेखि नियमित सरुवा अवरुद्ध छ ।

गत चैतमा मापदण्डविपरीत काजमा ठूलो संख्यामा प्रहरी निरीक्षकलाई कार्यालय प्रमुखका रूपमा खटाइएको थियो । नयाँ मापदण्डअनुसार त्यो काजसरुवा संशोधन हुने प्रवक्ता कडायत जानकारी दिए ।

नेपाल प्रहरीमा इन्स्पेक्टर, डिएसपी, एसपी र एसएसपीको सरुवामा अत्यधिक चलखेल हुने गरेको छ । सोही चलखेलले पनि सरुवा लम्बिएको हो । प्रहरी प्रधान कार्यालयले तल्लो तहको सरुवाका लागि पनि नयाँ मापदण्ड बनाउने तयारी गरेको छ । प्रहरीमा मापदण्ड बनाएर मात्र तल्लो तहका प्रहरीको सरुवा निकाल्ने पक्षमा प्रहरी प्रधान कार्यालय रहेको छ ।

प्रहरी प्रधान कार्यालयले नयाँ मापदण्ड कार्यान्वयनमा लैजाने भएपछि सरुवाका लागि २२ हजार प्रहरीले लिखित निवेदन दिएका छन् । प्रहरी नेतृत्वले सरुवाका लागि लिखित निवेदन अनिवार्य गरेको छ । विगतमा विभिन्न व्यक्तिमार्फत सरुवाका लागि सिफारिस गराउने र त्यहीअनुसार सरुवा हुने गरेको थियो ।

यसले प्रहरीको चेन अफ कमान्ड र अनुशासनमै समस्या आएको भन्दै प्रहरी प्रधान कार्यालयले सरुवाका लागि निवेदन अनिवार्य गरेको हो । लिखित निवेदन अनिवार्य गरेपछि २२ हजारले प्रहरीले सरुवाको फर्म भरेको प्रहरी प्रवक्ता कडायतले बताए । प्राप्त निवेदनमा मागअनुसार घरपायक मिलाएर सरुवा गरिने प्रहरी प्रधान कार्यालयको तयारी छ ।


सम्बन्धित समाचार