Logo

३१ साउन, वीरगञ्ज । वीरगञ्जमा रहेको एसपिएम प्रिन्टर्स प्रा.लि.का संचालक भारतीय नागरिक महेश शर्माले झुट्टो विवरण पेश गरेर नेपाली नागरिकता लिएको तथ्य वाहिर आएको छ ।

भारतको राजस्थान स्थित विकानेरको डुगंरगढमा स्थायी घर भएका शर्माले जिल्ला प्रशासन कार्यालय पर्साबाट झुट्टो विवरण पेश गरेर नेपाली नागरिकता लिएका हुन । उनी भारतको राजस्थानमा जन्मेको भएपनि नेपालमा जन्मेको भनेर नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएकोछ ।

महेश शर्माले २०६३ चैत २४ गते जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकताको विवरण समेत अलग अलग देखिएको छ । उनले प्रयोग गरेको नागरिकतामा जन्म मिति २०३८ चैत १६ गते उल्लेख छ तर जिल्ला प्रशासन कार्यालय पर्सामा रहेको रेकर्डमा भने उनको जन्म मिति २०२९ भदौ १७ गते रहेको देखिन्छ ।

उनले प्रयोग गरेको नागरिकताको नम्वर ३४–३०२२–१३÷२०७ रहेको छ । शर्माले एउटै नागरिकता नम्वरमा अलग अलग विवरण भरेर नारिकता लिएको देखिन्छ । उनले प्रयोग गरेको नागरिकतामा बुवाको नाउँ बजरंगलाल शर्मा उल्लेख गरिएको छ । तर जिल्ला प्रशासन कार्यालयको रेकर्डमा भने बुवाको नाउँ समेत महेश शर्मा राखिएको छ ।

उनले यहि नागरिकता प्रयोग गरेर वीरगञ्जमा एउटा एसपिएम प्रिन्र्टस प्रा.लि. खोलेर साझेदारीमा व्यापार व्यवसाय गरिरहेका छन् । वीरगञ्जको रामगढवा लगायत विभिन्न स्थानमा जग्गा जमिन समेत खरिद गरेको बताइएको छ ।

महेश शर्माले समेत अफ्नो बुवा वीरगञ्ज नआएको र आफ्नो जन्म समेत भारतको राजस्थानमा भएको वीरगञ्जमा बसेर काम गर्नुपर्ने भएकोले झुट्टो विवरण राखेर नागरिकता बनाएको स्वीकार गरेका छन् । उनले आफ्नो नागरिकता जिल्ला प्रशासन कार्यालय पर्सालाई फिर्ता गरेर आफू आफ्नो देश भारत जाने तयारीमा रहेको बताए ।

आफ्नो नाममा भएको जग्गा विक्री गर्न लागेको र केही शेयर तथा एसपिएमको शेयर समेत विक्री गर्ने मनस्थितीमा रहेको उनले बताए ।


सम्बन्धित समाचार