Logo

३२ साउन,वीरगञ्ज । आर्थिक तथा औद्योगिक नगरी वीरगञ्ज प्रविधिको सुरक्षा निगरानीमा रहेको छ । महानगरपालिकाको सुरक्षा अवस्थाको निगरानी गर्न जडान गरिएको अत्याधुनिक सीसीटीभी क्यामेराको औपचारिक उदघाटनपछि वीरगञ्ज प्रविधिको सुरक्षा घेरामा आएको हो ।

बुधबार वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले सीसीटीभी क्यामेरा नियन्त्रण कक्षको उदघाटन गर्नुभएको छ । मेयर सिंहले बैभव वीरगञ्जको अभियानलाई साकार तुल्याउन सुरक्षित वीरगञ्ज बनाउनु पर्ने कुरामा जोड दिनु भयो ।

वीरगञ्ज महानगरपालिकाको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालय पर्साको कन्ट्रोल रुममा जडान गरिएको प्यानल सहितको अत्याधुनिक सीसीटीभी क्यामरा रडार मोनिटरीङ्ग सिस्टमको उद्घाटन गर्दै नगर प्रमुख सिंहले अत्याधुनिक क्यामराको जडानसँगै अब वीरगञ्जको सुरक्षामा समेत थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नगर क्षेत्रमा हुने दुर्घटना तथा चोरीका घटना न्युनिकरणमा यसले महत्वपूर्ण भूमिका खेल्ने बताउदै नगर प्रमुख सिंहले विकास निर्माण, नगरको सौन्दर्यकरण, सरसफाई सँगै नगरवासीको सुरक्षालाई समेत महानगरले प्राथमिकताका साथ ठोस कार्यक्रम सहित अगाडी बढाई रहेको बताउनु भयो ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पर्सा प्रहरीको कन्ट्रोल रुममा जडान गरिएको अत्याधुनिक सीसीटीभी क्यामराको मोनिटरिङ्ग सिस्टमले अपराध तथा दुर्घटनाका घटना तत्काल पत्ता लगाउन तथा दोषीलाई पक्राउ गर्न सहज भएको बताउनु भयो । वीरगञ्ज महानगरपालिकाको २७ लाखको लागतमा पर्सा प्रहरीको कन्ट्रोल रुममा रडार सहितको क्यामरा जडान गरिएको हो ।

सो क्यामराबाट नगर क्षेत्रमा हुने दुर्घटना, चोरीका घटना तथा सुरक्षाका विविध गतिविधिलाई नियाल्न सहज हुने र तिव्रगतिमा गुडने सवारी साधनहरुलाई समेत कारवाही गर्न सहज हुने जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताउनु भयो ।

वीरगञ्ज प्रवेश गर्ने तथा बाहिरिने चोक एवं व्यस्त बजार क्षेत्रका विभिन्न स्थानमा क्यामरा जडान गरिएको र हिट एण्ड रनको अवधारणा अनुसार घटना स्थलमा तत्काल प्रहरी पुग्न समेत सहज हुने प्रहरी उपरीक्षक शाहले बताउनु भयो ।

वीरगञ्ज महानगरपालिका प्रवेश गर्ने वडा नम्बर २१ परवानीपुरमा सवारी नम्बर प्लेटको पहिचान गर्ने उपकरण सहितको सीसीटीभी क्यामेराले सबै सवारी साधनको नम्बर निगरानी गर्ने र त्यसको अभिलेख सीसीटीभी नियन्त्रण कक्षमा रहने छ ।

त्यसले वीरगञ्जबाट बाहिरिने र भित्रिने सवारी साधनहरुको पहिचान गर्न सहज हुनुका साथै त्यसले अपराध अनुसन्धानका लागि पनि सहयोगी भूमिका खेल्ने बताइएको छ ।


सम्बन्धित समाचार