Logo

३२ साउन,काठमाडौं। क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक छानविन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर संसद अवरुद्ध पारेपछि संसद सुचारु गर्ने विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले सहजीकरण गर्न थालेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अवरुद्ध संसद सुचारु गर्ने विषयमा परामर्श गरेका राष्ट्रपति पौडेलले सर्वदलीय बैठक बोलाउने तयारी गरेका हुन्।

निरन्तर संसद अवरुद्ध हुँदा बेपत्ता पारिएका व्यक्तिको छानविन सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक, सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यवासयिक वातारण प्रर्वद्धन सम्बन्धि केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक, केही नेपाल ऐनलाई संशोधन विधयेकलगायतका संसदमा अलपत्र परेको भन्दै राष्ट्रपति पौडेलले अवरुद्ध संसद सुचारु गर्ने विषयमा दलहरुसँग परामर्श गरेका हुन्।‘हाउस बन्द हुँदा विभिन्न विधेयक अलपत्र परेका छन्।

ती विधेयक अगाडि नबढ्दा मुलुकलाई नै घाटा हुने अवस्था छ, त्यसैले चाँडो हाउस खुलाउने विषयमा राष्ट्रपतिज्यूले सहजीकरणको भूमिका निर्वाह गर्न खोज्नु भएको हो,’ राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनील थापाले डिसी नेपालसँग भने, ‘यही विषयमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिपक्ष दलका नेतासँग परामर्श गर्नु भएको हो।

’बुधबार राष्ट्रपतिले एमाले अध्यक्ष ओलीसँग पनि संसद खुलाउने विषयमा परामर्श गरेका थिए। संसद खुलाउने विषयमा सत्तापक्षले बारम्बार आग्रह गरेपनि कुनै ठोस प्रस्ताव राख्न सकेको छैन।

एमाले आफ्नो मागबाट पछि नहट्ने र सत्ता पक्ष प्रतिपक्षको माग पूरा गर्न तयार नहुँदा साउन दश गतेदेखि संसदका दुवै सदन प्रमुख प्रतिपक्ष दलले अवरुद्ध पार्दै आएको छ।प्रतिपक्ष माग पूरा नभएसम्म सदनको अवरोध नहटाउने र सत्ता पक्ष माग पूरा गर्न तयार नहुँदा संसद सुचार गर्न राष्ट्रपति पौडेलले सहजीकरण गर्न लागेका हुन्।

दलहरुबीच सहमति जुट्ने संभावना नदेखेपछि राष्ट्रपति पौडेलले सर्वदलीय बैठक बोलाउने तयारी गरेका हुन्।‘राष्ट्रप्रमुखको हैसियतमा राष्ट्रपतिको पनि जिम्मेवारी हुन्छ।

त्यही जिम्मेवारी अन्तर्गत सर्वदलीय बैठक बोलाउने तयारी भएको हो,’ राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापाले भने, ‘राष्ट्रपतिमा निर्वाचित भएपछि सबै दलका नेतासँग भेट्ने अवसर पनि जुरेको छैन।

निर्वाचित भए लगत्तै उहाँ बिरामी हुनु भयो। अब सबै दलका नेतासँग भेट गर्ने र संसदको गतिरोध अन्त्य गर्ने विषयमा पनि सहजीकरणको प्रयास हुन्छ।’विगतमा पनि राष्ट्रपतिले यस्तो अभ्यास गरेको भन्दै उनले केही दिनभित्रै सर्वदलीय बैठक बोलाइने जनाए।

 


सम्बन्धित समाचार