Logo

४ भदौ, काठमाडौं । संसदको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठक (आज) पनि बस्दै छ ।

आइतबारको बैठक सहमति नजुटेपछि आज अपराह्न चार बजे फेरि बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्ने छ । नेताहरुले हिजोको बैठक सहमति नजिक पुगेकाले आजको बैठक टुंगोमा पुग्नसक्ने बताएका छन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार सुन तस्करी सम्बन्धमा अहिले भइरहेको अनुसन्धान प्रभावित नहुने र प्रमुख प्रतिपक्षको माग पनि सम्बोधन हुने गरी मध्यमार्गी उपाय खोज्ने प्रयास भइरहेको छ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सदन सन्चालनका विषयमा सकारात्मक छलफल भइरहेकाले आज निष्कर्षमा पुग्न प्रयास हुने बताए ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने नेकपा एमालेको अडान र सरकारी संयन्त्रहरुलाई नै छानबिन गर्न दिनुपर्ने सत्ता पक्षको भनाइका कारण संसद बैठक बस्न अवरुद्ध हुँदै आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर भित्रिएको सुन राजश्व अनुसन्धान विभागले साउन ३ गते सिनामंगलबाट नियन्त्रणमा लिएपछि एमालेले साउन १० गतेदेखि संसदमा अवरोध गर्दै आएको छ ।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नगरेसम्म बैठक चल्न नदिने अडान लिएको छ । हिजोको बैठकमा पनि एमालेले सोही अडान दोहोर्याएको थियो ।

तर प्रधानमन्त्री प्रचण्डले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) र राजश्व अनुसन्धान विभागले गरिरहेको अनुसन्धानलाई नै विश्वास गर्न आग्रह गरेका थिए । निरन्तर संसद अवरुद्ध हुँदा महत्वपूर्ण विधेयक अलपत्र परेको र जनप्रतिनिधिहरुले जनताका समस्या राख्न नपाएकोतर्फ प्रधानमन्त्री प्रचण्डले ध्यानाकर्षण गराएका थिए ।

तर बैठकमा सहभागी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतले पूर्ववत अडान नछाडेपछि बैठक निष्कर्षमा पुग्न सकेन । सो बैठक निष्कर्षविहीन भएपछि आइतबार बस्ने तय भएको प्रतिनिधि सभाको बैठक पनि सूचना टाँसेर मंगलबारसम्मका लागि स्थगित गरिएको थियो ।


सम्बन्धित समाचार