Logo

४ भदौ,विराटगनर । कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवारले प्रदेशसभा बैठक सञ्चालन गर्न असमर्थ रहेको बताउनुभएको छ । अचानक बिरामी परेको भन्दै भदौ ४ गते र त्यसभन्दा पछाडिको बैठक सञ्चालन गर्न नसक्ने जानकारी उहाँले प्रदेशसभा सचिवालयलाई दिनुभएको हो ।

सोमबार बिहान ८ बजे प्रदेशसभा कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएकी उपसभामुख बैठकमा उपस्थित नभई काठमाडौँ तर्फ जानुभएको छ । उहाँले स्वकीय सचिव मार्फत प्रदेशसभा सचिवालयमा पत्र पठाउँदै बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराउनुभएको हो ।

सोमबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको थियो । थापाले भदौ ३ गते आइतबार विश्वासको मत लिने चाहेको भन्दै प्रदेशसभा सचिवालयमा निवेदन दिनुभएकोमा उपसभामुख दनुवारले ४ गते दिउँसो १ बजेको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावमा छलफल गर्न समय निर्धारण गर्नुभएको थियो । तर, बैठक अगाडि नै उहाँ बिरामी परेको भन्दै अनुपस्थित रहेपछि प्रदेशसभाको बैठक सँगै विश्वासको मत लिने मुख्यमन्त्रीको तयारीसमेत अनिश्चित बनेको छ ।

तर, उपसभामुख दनुवारले प्रदेशसभा सचिवालयमा बिहान ९ बजे पत्र पठाएर आफ्नो अनुपस्थितिमा प्रदेशसभा नियमावलीको नियम ११ को उपनियम २ बमोजिमको अधिकार प्रयोग गर्ने गरी अध्यक्ष मण्डलका सदस्य इस्राइल मन्सुरीलाई बैठकको अध्यक्षता गर्न जिम्मेवारी दिएको जानकारी गराउनुभयो । सदस्य मन्सुरी नेपाली काङ्ग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ ।

प्रदेशसभा नियमावलीको नियम ११ (१) बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न चार जना सदस्य मनोनीत भइसकेको र पहिलो वर्णानुक्रममा रहेका सदस्य अम्बरबहादुर विष्ट र मालतीकुमारी लिम्बुले बैठकमा अनुपस्थित रहने सूचना दिइसकेको अवस्थामा दोश्रो क्रमसङ्ख्या र दोस्रो वर्णानुक्रममा रहनुभएका मन्सुरीलाई बैठक सञ्चालन गर्ने जिम्मेवारी दिएको उपसभामुखको पत्रमा उल्लेख छ ।

कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न ४७ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । कुल ९३ सदस्यमध्ये सत्ता गठबन्धनसँग ४७ सदस्य भए पनि उपसभामुखले प्रदेशसभाको अध्यक्षता नगरी गठबन्धन सदस्य इस्राइल मन्सुरीलाई बैठकको अध्यक्षता गर्ने जिम्मेवारी तोकिदिएका कारण मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था टरेको हो ।

उपसभामुख दनुवारले प्रदेशसभाको बैठक सञ्चालन नगरी काठमाडौँ तर्फ लागेपछि सत्ता गठबन्धनमा आबद्ध दलहरू आगामी रणनीति बनाउन बैठक बसिरहेका छन् ।


सम्बन्धित समाचार