Logo

५ भदौ, वीरगञ्ज । । पहिरो खसेर बन्द भएको मुग्लिन–नारायणगढ सडक खण्ड केहीवेर अघिमात्र सञ्चालनमा आएको छ । सोमबार राती देखि बन्द भएको सडक झन्डै १७ घण्टापछि सञ्चालनमा आएको हो ।

हिजो राति ८ बजेतिर खसेको पहिरोका कारण पूर्णरूपमा बन्द भएको सडक आज दिउँसो १ बजे देखि सञ्चालनमा आएको सडक डिभिजन भरतपुरतले जानकारी दिएको छ ।

सुख्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक सोमबार राती देखि अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा यात्रुको बिचल्ली भएको छ। यो सडक खण्डमा पर्ने चितवनको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा गएराति राति ८ बजे पहिरो खस्दा सडक दुईतर्फी नै अवरुद्ध बनेको हो।

ठूलो पहिरोले सडकको झण्डै ४० मिटर भाग ढाकेको कारण पहिरो पन्छाउन समय लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पहिरोले सडक अवरुद्ध भएसँगै सो सडक भएर चल्ने सवारी साधन १७ घण्टादेखि रोकिएका थिए ।

पहिरो पन्छाउन चारवटा डोजर स्काभेटर लगातार प्रयोग गरिएको थियो । रातभर पहिरो पन्छाउने काम गरिएको आज दिउँसो देखि एक तर्फी सडक खोल्न सफल भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले बताए।

पहिरो खसेको ठाउँ साँघुरो भएका कारण पहिरो पन्छाउने काममा ढिलाई भएको तामाङको भनाई छ। नारायणगढ–मुग्लिन सडकखण्ड पहिराका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ। बर्खाको बेला यो सडक धेरै अवरुद्ध हुने गरेको छ।


सम्बन्धित समाचार