Logo

५ भदौ, काठमाडौं । बर्षात र सदनको कारण देखाउदै नेपाली कांग्रेसले संगठन सुदृढीकरणका लागि तय गरेको समुदायमा कांग्रेस राष्ट्रव्यापी अभियान स्थगित गरेको छ।

भदौ १० गतेदेखि २४ गतेसम्म देशैभर संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने कांग्रेसले निर्णय गरेको थियो। साउन १० गते सकिएको केन्द्रीय समितिले पारित गरेको वार्षिक कार्यतालिकामा अभियान भदौ १० देखि २४ गतेसम्म देशैभर सञ्चालन गर्ने उल्लेख छ।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा मंगलबार बसेको पदाधिकारी बैठकले पूर्वनिर्धारित राष्ट्रव्यापी अभियान तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बर्खा नसकिएको र संसद पनि चल्ने भएकोले राष्ट्रव्यापी अभियान केही समयपछि गर्ने समझदारी बनेको बताए।

‘समुदायमा कांग्रेस राष्ट्रव्यापी अभियानमा जनप्रतिनिधि (सांसद) पनि जानुपर्छ। तर संसद चलिरहेकोले अहिले यो कार्यक्रम गर्न सम्भव हुँदैन भन्ने भयो। साथै पानी पनि परिराखेको छ, बर्खा सकिएको छैन। केही समयपछि यो अभियान गर्छौं,’ उनले भने।

राष्ट्रव्यापी अभियान अहिलेलाई स्थगित गरिए पनि अब कहिले गर्ने भन्ने मिति तय गरिएको छैन। साथै साउन २० देखि ३० गतेसम्म ७७ जिल्लामै केन्द्रीय सदस्य र पूर्वकेन्द्रीय सदस्य पठाएर कांग्रेसले संगठन सुदृढीकरणबारे आन्तरिक छलफलसमेत गरिसकेको छ।

‘संगठन सुदृढीकरणका लागि गरिएको आन्तरिक अभियानबारे पनि पदाधिकारी बैठकमा समीक्षा भयो। यो अभियान प्रभावकारी भएको निचोड निस्किएको छ,’ पौडेलले भने।

कांग्रेसले बिपी साहित्य महोत्सव भव्यताका साथ मनाउने निर्णयसमेत गरेको छ। भदौ २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा बिपी साहित्य महोत्सव आयोजना हुनेछ।

त्यस्तै भ्रातृ संघसंस्थालाई पूर्णता दिने विषयमा पनि मंगलबार पदाधिकारी बैठकमा छलफल भएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।


सम्बन्धित समाचार