Logo

५ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले केन्द्रीय कमिटी बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका छन्।

आज (मंगलबार) बाट सुरु भएको केन्द्रीय कमिटीमा ३९ पृष्ठ लामो प्रतिवेदन पेस गर्दै अध्यक्ष नेपालले पछिल्लोे गठबन्धन, पार्टी विद्रोहको महत्व, पार्टीमा बढ्दै गएको निराशा र वाम एकता लगायतका विषयमा चर्चा गरेका छन्।

अध्यक्ष नेपालले तत्काल वाम एकता असम्भव रहेको पनि प्रतिवेदनमा उल्लेख गरेका छन्।‘नेकपा (माओवादी केन्द्र) र जसपालगायतका पार्टीहरूसँग एकता वार्ता पनि चलाएका थियौँ।

यस दौरान व्यवहारबाट के स्पष्ट भयो भने अहिले तत्काल कम्युनिष्ट पार्टीहरूबीचको एकता वा वाम एकता सम्भव छैन,’ उनले भने, ‘पार्टी एकता हुनका निम्ति पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, सङ्गठनात्मक सिद्धान्त, कार्यक्रम र कार्यदिशाजस्ता मूलभूत विषयमा एकरूपता हुनु पर्दछ।’साझा कार्यक्रम मोर्चाबाट गरिन्छ भने पार्टीका आफ्ना कार्यक्रम स्वतन्त्र रूपमा चलिरहने उनले बताएका छन्।

‘समाजवादी मोर्चामा रहँदा पार्टी कमजोर हुन्छ भन्ने होइन। मोर्चामा रहनु भनेको त्यसैमा विलय हुने भन्ने होइन । मोर्चामा रहँदैमा पार्टीको स्वतन्त्र अस्तित्व समाप्त हुने होइन,’ उनले भनेका छन्, ‘मोर्चामा रहेको बेलामा पनि पार्टीको आफ्नो स्वतन्त्र अस्तित्व रहिरहन्छ र पार्टीले आफ्ना कार्यक्रम र क्रियाकलाप स्वतन्त्र रूपमा सञ्चालन गरिरहन्छ।’


सम्बन्धित समाचार