Logo

७ भदौ,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कानुन विपरीत कुनै पनि काम नगरेको जिकिर गरेका छन्।पार्टीनिकट भूपू सैनिक तथा प्रहरीको कार्यक्रममा बोल्दै ओलीले आफूले पदमा रहँदा कानुन पल्टाइ पल्टाइ निर्णय गरेको बताए।

‘कानुनले केपी ओलीलाई हतकडी लगाउन सक्ने कुनै ठाउँ राख्दै राख्दैन। राखेकै छैन। त्यसैले केपी ओली ढुक्कले भन्छ। मलाई थाहा छ, विरोधीहरू छन् तिनीहरूले सत्यका विरुद्ध काम गर्छन्। तिनीहरू हाम्रा विरुद्ध आइलाग्न सक्छन्।

म सचेत छु कानुनी रुपमा पनि कतै एक शब्द नचिप्लियोस् भनेर।’ ओलीले भने, ‘म प्रधानमन्त्री हुँदा, परराष्ट्रमन्त्री हुँदा गृहमन्त्री हुँदा मेरा काम कारवाहीहरू एक शब्द नचिप्लियोस् भनेर मैले कानुन पल्टाइ पल्टाइ फैसला गरेको छु। निर्णय गरेको छु। त्यसैले कसैको इच्छाले केपी ओलीलाई फसाउन सक्दैन।

माकुराको जालोमा भैसी पर्दैन भन्ने यिनिहरुले बुझ्नुपर्छ।’सत्तापक्ष अहिले भ्रष्टाचार र तस्करी काण्डबाट उम्किनका लागि एमालेमाथि खनिएको ओलीको आरोप थियो। ‘अहिले यस्तो भ्रष्टाचारको काण्डहरू भइरहेका छन्, त्यस्तो काण्डहरूलाई छोप्न सजिलो छ एमालेले गर्यो भनेर।

राम्रो काम केही गरेन नराम्रो मात्रै गर्यो। अब कसैकसैले छाप्न सक्छ केपी ओलीलाई हतकडी लायो जेल गयो भनेर। कसैले मलाई गोली हान्नसक्छ आपत्ति छैन, तर मलाई पञ्चायतकालमा जस्तै गरेर हुँदै नभएको कुरामा १० वर्ष कैद गर्ने १० वर्ष भुक्तान भइसकेपछि ४ वर्ष यसै थुन्यो।

अहिले पनि त्यस्तै गर्ने हो भने त बेग्लै कुरा हो।’ ओलीले भने। उनले सत्तापक्षले जनता जुधाउने काम गरिरहेको आरोप लगाए। अझै पनि नेपाली जनता सचेत नभएकोमा दुःख लागेको भन्दै ओलीले जातीय नारा उचालेर नुवाकोटको गोरु जुधाएजस्तो जनता जुधाउन लागेको आरोप लगाएका हुन्।

 


सम्बन्धित समाचार