Logo

८ भदौ, वीरगञ्ज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चामा सम्मिलित चार दलबीच एकीकरण गर्नेबारे  छलफल भइरहेको बताएका छन्।

शुक्रबार वीरगञ्जमा आयोजित मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मोर्चामा रहेका माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाबीच पार्टी एकीकरण गर्नेबारे छलफल भएको बताएका हुन्।

उनले भने, ‘हामीले पार्टी मिलाउन पनि छलफल सुरु गरेका हौँ। पार्टी नै मिलाइदिउँ तर एकैचोटी हतार नगरौँ, हतार गरेर खाए भने के हुन्छ? विस्तारै खानुपर्छ,’ उनले भने, ‘हामी एउटै लक्ष्य प्राप्ति गर्ने बाटोमा हिँडेको यात्रीहरु हौँ।’

चार दल मिलेर समाजवादी मोर्चा बनेपछि धेरै जनालाई पसिना आएको भन्दै नेता नेपालले संघमा मात्रै नभइ प्रदेश र पालिका स्तरमा पनि मोर्चा गठन गरिने जानकारी दिए।

सभामा मोर्चाको कार्यदिशा र अवधारणपत्र सार्वजनिक गर्दै उनले संविधानको रक्षा गर्ने अभिभारा मोर्चाको भएको बताए। संविधानको उल्लंघन र जबरजस्ती संसद् विघटन गरिएकोले सडकमा उत्रेर मोर्चामा आबद्ध दल र नेताहरुले संविधानको रक्षासँगै संसद् पुनःस्थापना गराउन सफल भएको नेपालको भनाइ थियो।


सम्बन्धित समाचार