Logo

१२ भदौ,बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आधारभूत तहका विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने भएको छ। राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मा भएको व्यवस्थाअनुसार चालू आवदेखि नगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको हो।

स्थानीय ज्ञान, सीप, प्रविधि र संस्कृति भावि पुस्तालाई हस्तान्तरण गर्नमा सघाउ पु¥याउने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माणको कार्य हुन लागेको छ ।

आधारभूत तहको कक्षा १ देखि ८ सम्म स्थानीय पाठयक्रम निर्माण गरी लागू गर्ने योजना जीतपुरसिमरा उपमहानगरपालिकाले बनाएको छ ।स्थानीय पाठ्यक्रम निर्माणका लागि सेलो फाउण्डेशन , बालुवाटार काठमाडौँले प्राविधिक सहयोग गरेको छ ।

सेलो फाउन्डेसनले तयार पारेको १ देखि ८ सम्मको पाठ्यक्रमको खाका (ड्राफ्ट)माथि बिद्यालयका शिक्षक ,स्थानीय बुद्धिजीबि र बिज्ञहरुले छलफल तथा राय ,सुझाव प्रस्तुत गरेका थिए । स्थानीयस्तरका विषयवस्तुहरु समावेश गरी विद्यालयमा नियमित पठनपाठन गर्ने अभिप्रायले शैक्षिक सामग्री तयार गर्ने कार्य भैरहेको छ।

पाठ्यक्रममा यस क्षेत्रको प्राकृतिक, सामाजिक, ऐतिहासिक, सांस्कृतिक, आर्थिक पक्षसँगै जैविक विविधता, नदी, ताल, तलैया, वन सम्पदा, असल सामाजिक कार्यक्रमहरु, स्थानीय पेशा व्यवसाय लगायतलाई पाठ्यक्रममा समावेश गरिने जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले पालिकामा पहिलो पटक स्थानीय पाठ्यक्रम निर्माण गर्न लागिएकोले सकारात्मक सोच, साँस्कृतिक, भाषिक, आर्थिक पक्षलाई समेट्न सके नसकेको हेर्न अनुरोध गर्नुभयो । उहाँले स्थानीय स्तरमा कृषि, पशुपालन, पर्यटन, व्यापार, भूगोल, प्रकृति आदि आदिलाई समेटी, अन्धविश्वास र कुरीति हटाउने खालको पाठ्यक्रम निर्माण गरिनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा रत्न राज्यलक्ष्मी क्याम्पस काठमाडौँका प्राध्यापक देवीप्रसाद घिमिरेले स्थानीय पाठ्यक्रम स्थानीय आवश्यकता, स्थानीय विषयवस्तु , स्थानीय सहभागिता र विज्ञतालाई समावेश गरेर पाठ्यक्रम निर्माण गरिने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा क्याम्ब्रीज विश्व विद्यालयका ए लेभलका अध्यापक जिचेन स्यांगतानले जीतपुरसिमराको स्थानीय पाठ्यक्रम (१–८)का बारेमा तयार पारिएको मस्यौदालाई प्रस्तुत गर्नुभएको थियो ।

तथा आर्थिक महाशाखा प्रमुख शिवजी साहको अध्यक्षतामा भएको कार्यक्रममा नगरका शिक्षा समिति पदाधिकारी, स्थानीय पाठ्यक्रम निर्माण समिति पदाधिकारी, नगरका विभिन्न शाखाका कर्मचारी, सामुदायिक क्याम्पसका प्रमुख, सामुदायिक विद्यालयक प्रधानाध्यापक, संस्थागत विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।शिक्षा युवा तथा खेलकुद महाशाखा प्रमुख हरिश भट्टले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण खुलप्रसाद गौतमले गर्नुभएको थियो ।


सम्बन्धित समाचार