Logo

१६ भदौ,वीरगञ्ज । मधेश प्रदेशमा ८९.२० प्रतिशत धान रोपाइँ सकिएको छ । वर्षा पर्याप्त नहुँदा प्रदेशलाई सुक्खा क्षेत्र घोषणाको माग उठिरहेका बेला परेको पानीले धान रोपाइँको क्षेत्रफल बढेको छ ।

भदौको सुरुमा ८२.५८ प्रतिशत धान रोपाइँ मात्र भएको थियो । त्यसपछि खेतमा जम्ने गरी पर्याप्त वर्षा भएकाले रोपाइँको प्रतिशतमा वृद्धि भएको छ ।

मधेश प्रदेशका आठवटै जिल्लाका गरी पाँच लाख ७४ हजार ३६० हेक्टर क्षेत्रफल जग्गा खेतीयोग्य रहेको मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

कुल खेतीयोग्य जग्गामध्ये चार लाख एक हजार ६५० हेक्टर क्षेत्रफल जग्गा धान खेतीका लागि योग्य छ । सो मन्त्रालयका प्रवक्ता रोशन मेहताले हालसम्म धान खेतीयोग्य जग्गामध्ये तीन लाख ३१ हजार ६९०.७ हेक्टर जग्गामा धान बाली लगाइएको जानकारी दिनुभयो ।

खेतीयोग्य जग्गामध्ये ४३ हजार ३५९.३ हेक्टर क्षेत्रफल जग्गामा अझै धान रोपाइँ भएको छैन । मधेश प्रदेशमा सबभन्दा बढी बारा जिल्लामा धान रोपाइँ भएको छ ।

त्यहाँ ९८ प्रतिशतमा धान रोपाइँ भइसकेको मधेश प्रदेशको कृषि विकास निर्देशनालय नक्टाझिजले जनाएको छ । निर्देशनालयका निमित्त निर्देशक कमलदेव कुसवाहका अनुसार प्रदेशमा सबैभन्दा कम महोत्तरी जिल्लामा धान रोपाइँ भएको छ ।

यस जिल्लामा ६५ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको जानकारी उहाँले दिनुभयो । यसैगरी पर्सामा ९७ प्रतिशत खेतमा धान रोपाइँ भएको छ । यस जिल्लामा ४७ हजार १३० हेक्टर क्षेत्रफलमध्ये ४५ हजार ७१६.१ हेक्टरमा धान बाली लगाइएको छ ।


सम्बन्धित समाचार