१७ भदौ, वीरगञ्ज। वीरगञ्ज भन्सारबाट दैनिक ५० देखि ६० बोरा प्याज वीरगञ्ज बजारमा भित्र्याउने गरेको पाईएको छ । भारतिय सहर रक्सौलबाट साईकलमा लोड गरि वीरगञ्ज भन्सार हुदै वीरगञ्ज बजारमा भित्रिने गरेको खुलासा भएको हो ।
भारत सरकारले प्याजमा ४० प्रतिशत कस्टम लगाए पछि वीरगञ्जका व्यापारीहरुले तस्करी तथा भन्सार छलेर ल्याइएको प्याज लिने गरेका छन् । वीरगञ्ज बजारमा हाल प्याज प्रति क्युन्टल ५५ सय देखि ६ हजार सम्म रहेको छ । भारतको बजार रक्सौलमा भारतिय रुपैया २७ सय प्रति क्विन्टल रहेको त्यहाँका व्यापारीहरुले बताएका छन् । भने वीरगञ्ज बजारमा यसको खुद्रा मुल्य ७० रुपैया प्रतिकिलो छ । रक्सौलमा प्याजको प्रतिकिलो नेपाली ५० रुपैया रहेको छ ।
रक्सौलबाट वीरगञ्ज बजारमा ल्याइएको प्याजमा तस्करले प्रति क्विन्टलमा ८ सय रुपैया लिने गरेको एक तस्करले बताएको छन् । तस्करहरुले साईकलमा २ बोरा अथवा १ क्विन्टल लोड गरी वीरगञ्जको बाईपास रोड भई वीरगञ्ज बजारमा ल्याउने गरेका छन् । उनीहरुले रक्सौलबाट वीरगञ्ज बजारमा प्याज ल्याउदाँ पाँच ठाउँमा प्रहरीसँग मिलाएर मात्र आउने गरेको तस्करको भनाइ छ ।
यता प्याज महंगो भए पछि वीरगञ्जका व्यापारीको व्यापारमा समेत असर परेकोले भन्सारबाट नभई तस्करसँग मगाएर व्यापार गर्न बाध्य भएको व्यापारीको गुनासो छ । नेपाल सरकारले चालु आर्थिक वर्ष ०८०÷०८१ मा आलु प्याजमा भ्याट लगाएको छ । वीरगञ्जका कतिपय व्यापारीले सरकारले आलु प्याजमा लगाएको भ्याटबाट व्यापारमा थप महंगी बढेको गुनासो गरेका छन् ।
पर्साका प्रहरी उपरिक्षक एसपी कोमल बिक्रम शाहले पर्सा जिल्लामा तस्करी रोक्न प्रहरी लागि परेको जानकारी दिनुभयो । उहाँले भारतबाट अवैध रुपले प्याजको तस्करी गर्नेलाई पनि चाडै नै कारवाही गर्ने बताउनुभयो ।