Logo

१७ भदौ, वीरगञ्ज। देशमा आर्थिक मन्दी बढ्दै जाँदा रोजगारी नै संकटमा परेको युवाहरुको गुनासो छ । जसका कारण पर्साका अधिकांश क्षेत्रबाट युवाहरु विस्थापित भएर गाँउ फर्किन थालेका हुन् ।

जिल्लाको ठोरी, जिराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी, जगरनाथपुर गाँउपालिका तथा पर्सागढि नगरपालिका लगायतका युवाहरु गाँउ फर्किन थालेको पटेर्वासुगौली गाँउपालिकामा स्थायी भई काठमाण्डौ बसोबास बस्दै आएका बिजय चौधरीले जानकारी दिनुभयो । कोभिड महामारीपछि देशमा भएका आर्थिक समस्या बढ्दै गएपछि काठमाण्डौ, भरतपुर, पोखरा, बुटवल, हेटौँडा, विराटनगर, झापा लगायतका ठाँउबाट युवाहरु विस्थापित हुने क्रम बढेको चौधरीको भनाइ छ ।

काठमाण्डौमा स्टिल तथा फलामको स्ट्रक्चर निर्माण कार्यमा ठेक्काको काम गर्दै आएका जिराभवानी गाउँपालिका वडा नं २ सेढवा निवासी शंकर चौधरीले काम नपाएर गाँउ फर्केको बताउनुभयो । आम नागरिकसँग पैसा नरहेको र बैँकले पनि ऋण लगानी नगर्दा निजि स्तरमा बिकास निर्माणका कार्य एकदमै न्यून भएकाले बाध्य भई गाँउ फर्केको उहाँको भनाइ छ । काम नभएर त्यहाँबाट फर्के पनि आफ्नो बालबच्चालाई भने पढाईका कारण उतै छोड्नु परेको चौधरीले जानकारी दिनुभयो ।

त्यस्तै जिराभवानी गाँउपालिकाकै शाहदेव महतोले परिवारसहित पोखराबाट विस्थापित भएर गाँउ फर्केका छन् । उनी पोखरामा ट्याक्सी चालकको काम विगत दश वर्ष अगाडीदेखि गर्दै आएका थिए । केही बचत तथा ऋण लिएर निजी ट्याक्सी खरिद गरेको उहाँको भनाइ छ । तर व्यापारमा कमि आएर ब्याज समेत तिर्न नसक्ने अवस्था आएपछि ट्याक्सी बेचेर क्रृण तिरी गाउँ फर्किएको महतोले जानकारी दिनुभयो । गाउँमै खेतीपाती गरी जीविकोपार्जन गर्ने र बालबालिकालाई पनि गाउँ मै पढाउने उहाँको योजना छ ।

अहिले ग्रामीण भेगका युवाहरु शहरबाट विस्थापित भई गाँउ फर्किएका छन् । केही युवाहरुले शहरमा व्यवसायमा टिकाउ भएपनि कारोवारमा भने कमि आएको बताएका छन् । जसोतसो गरि व्यवसाय चलाएर केही आम्दानी भएको रकमबाट गुजारा चलाउनु परेका उनीहरुको गुनासो छ । युवाहरु गाउँ फर्किएपछि दैनिक ज्यालादारी, खेती किसान, तरकारीको व्यापार, स–साना कारखाना खोलेर सञ्चालन गरेको भएपनि आम्दानी पर्याप्त नहुने गरेको उनीहरुको भनाइ छ ।

ग्रामीण भेगका युवाहरु देशका विभिन्न शहरमा मोटरसाईकल ग्यारेज, घर निर्माणका ठेकेदार, स्टिल तथा गेट ग्रिलको ठेक्का, ट्याक्सी ड्राइभर, विभिन्न पसल व्यसाय गर्दै आएका थिए ।


सम्बन्धित समाचार