Logo

१८ भदौ,वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय आधाभारमा उद्धार गरी ल्याइएका बाघ थपिने क्रमसँगै कर्मचारीका जिम्मेवारी पनि थपिएको छ । ठोरी गाउँपालिका–५ सुवर्णपुरबाट ल्याइएकी करिब ९ वर्षीया बघिनीसमेत थपिएपछि अब निकुञ्जकर्मीले स्याहार्नु पर्ने बाघको संख्या पनि ३ पुगेको हो ।

नरभक्षी भएको शंकामा डार्ट गरेर बेहोस पारी नियन्त्रणमा लिइएको बघिनीलाई हालका लािग निकुञ्जमै राख्ने निर्णय गरिएको सहायक संरक्षण अधिकृत सूर्य खड्काले जानकारी दिनुभयो । यसअघि निकुञ्जको खोरमा सुरुमा गत चैत २२ मा ठोरी–५ बाटै उद्धार गरी ल्याइएको बाघ मात्रै थियो ।

चितवनबाट उद्धार गरी ल्याइएको अर्को बाघ असार २३ मा निकुञ्जमा ल्याइयो । चितवन राष्ट्रिय निकुञ्जमा यसअघि नै ५ वटा बाघ यसरी खोरमा राखिएकाले त्यहाँ अब ठाउँ छैन । त्यसैले चितवनले एउटा बाघ पर्सा पठाइदिएको खड्का बताउनुभयो ।

बाघ थपिदै गए पनि निकुञ्जमा त्यसको स्याहार गर्ने छुट्टै कर्मचारीको दरबन्दी भने नभएको बताइएको छ । निकुञ्जकै स्काउट तथा गेमस्काउट कर्मचारीले दैनिक बाघ स्याहार्ने काम गरिरहेका उहाँको भनाइ छ ।

हाल एउटा बाघलाई दैनिक ५ किलोको दरले राँगाको मासुको आहारामा दिने गरिएको छ । निकुञ्ज कार्यालयसँग बाघको आहाराको शीर्षककै छुट्टै बजेट नहुने भएकाले वन्यजन्तु उपचार शीर्षकमा रहेको थोरै बजेटबाट जसोतसो धानिएको खड्काले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार