Logo

१९ भदौ,वीरगञ्ज । वीरगञ्जस्थित नारायणी यातायात व्यवस्था कार्यालयले लिने सवारीचालक अनुमतिपत्रको ट्रायल परीक्षा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा भएको छ । अख्तियारको हेटौंडा कार्यालयबाट खटिएको टोलीको प्रत्यक्ष निगरानीमा भएको लाइसेन्सको ट्रायल परिक्षा लिइएको हो ।

परिक्षामा अधिकांश परीक्षार्थी फेल भएका छन् । प्रहरी निरीक्षक सागर घले नेतृत्वको ४ जना टोली वीरगञ्ज –२३ प्रसौनीमा रहेको ट्रायल सेन्टरमा पुगेको थियो । ट्रायल प्रमुख बबिता जैसवाल, प्राविधिक र ट्राफिक प्रहरीका प्रतिनिधिसँगै अख्तियारको टोली बसेर प्रत्यक्ष निगरानीमा प्रयोगात्मक परीक्षा सुरु गरिएको थियो । ट्रायलको सुरुवाती चरणदेखि लिएर अन्तिम चरणसम्म अख्तियारका कर्मचारीले निगरानी गरेका हुन् ।

परीक्षार्थीहरुले चलाएको बसको चक्का लाइनमा छुनेबित्तिकै फेल भएको भन्दै अख्तियारको टोलीले नामावलीमा रातो कलमले चिन्ह लगाएका थिए । प्रहरी निरीक्षक सागर घलेले ट्रायल अनुगमनका लागि कार्यालयले खटाएको बताउनुभयो । यातायात व्यवस्था कार्यालयकी ट्रायल प्रमुख बबिता जैसवालले अख्तियारको निर्देशनमा टोली आएको जानकारी दिनुभयो ।

वीरगञ्जमा यसरी अख्तियारको प्रत्यक्ष निगरानीमा सवारीचालक अनुमतिपत्रको ट्रायल परीक्षा भएको थिएन् । लाइसेन्सको लिखित र ट्रायल परीक्षामा अनियमितताको उजुरी पर्दा अख्यितारले छानबिन तथा अनुसन्धान गर्दै आएको थियो ।


सम्बन्धित समाचार