Logo

१९ भदौ,ठोरी । बाघका कारण अघिल्लो साता त्रसित बनेको पर्साको ठोरी गाउँपालिका–५ आठघरेमा आज सरसफाई गरिएको छ । सुवर्णपुरको ठुलो बाघमोर्चा छघरे हुँदै सुवर्णपुर चोक आवतजावत गर्ने बाटोमा बढेको झाडी पन्छाएर सरसफाई गरिएको हो ।

पर्सा राष्ट्रिय निकुञ्जसँगै सिमाना जोडिएको सो क्षेत्रमा रहेको झाडी बुट्यानका कारण जङ्गली जनावर लुकेर बस्ने जोखिम बढेको थियो । यस्तै बाघमोर्चामा रहेको प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई समेत आवतजावतमा जोखिम रहेकोले सरसफाइ गरिएको सुनाखरी मध्यवर्ती उपभोक्ता समितिका सचिव जीवन श्रेष्ठले जानकारी दिनुभयो ।

 

मानव बस्ती प्रवेश गरेका जनावरहरु दिउँसो पनि सोही क्षेत्र वरपर लुकेर बस्ने खतरा रहेकोले ठोरी गापाको सहयोगमा जेसीबी प्रयोग गरेर मानिस आवतजावत हुने बाटो वरपरको झाडीको सरसफाइ गरिएको सचिव श्रेष्ठले बताउनुभयो । सरसफाइ कार्यमा ठोरी ५ का वडाध्यक्ष, पुर्व वडाध्यक्ष, वडा सदस्यहरु, सशस्त्र प्रहरी बल सुवर्णपुर, सुनाखरी उपभोक्ता समिती, नेपाल प्रहरी, आठघरे र ठुलो बाघमोर्चाका स्थानीय संरक्षणकर्मी लगायत स्थानीयबासीको सहभागिता थियो ।

गत बुधबार घरनजिकैको खेतमा बाँधिएको गोरुलाई पानी खुवाउन जाँदा छ घरेका वृद्ध कान्छा लाल दोङको बाघको आक्रमण गर्दा परेर ज्यान गएको थियो । यस्तै बाघकै आक्रमणमा परेर उनले नै पालेको गोरु समेत मरेको थियो ।

मानवीय र पशु धनमा क्षति पुर्याएको बाघलाई गत शनिबार मात्र प्राविधिक टोलीले डार्ट गरेर नियन्त्रणमा लिन सफल भएको थियो ।


सम्बन्धित समाचार