Logo

२० भदौ,वीरगञ्ज । आज ‘श्रीकृष्णजन्माष्टमी’ । भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदै छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भदौकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको पौराणिक ग्रन्थमा उल्लेख छ ।

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णले व्यक्त गर्नु भएको ‘श्रीमद् भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ ।छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

श्रीकृष्णजन्माष्टमीका अवसरमा आज ललितपुरको पाटनको मङ्गलबजारसहित देशभरका कृष्णमन्दिरमा मेला लाग्दछ । मंगलबजारको कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।


सम्बन्धित समाचार