Logo

२० भदौ,सेढवा । मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औ राष्ट्रिय दिवसको अवसरमा पर्साको ठोरी गाँउपालिकाले एक कार्यक्रमको आयोजना गरेको छ । गाँउपालिकाले “सामाजिक न्याय र आर्थिक सशक्तिकरण , मानव बेचबिखनको निर्मुलन“ सहितको नारा सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

गाँउपालिकाको सभा हलमा आयोजित कार्यक्रमको सभाध्यक्ष गोकुल कुमारी रेग्मीले गर्नुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि पालिका अध्यक्ष लालबहादुर श्रेष्ठले सूचना तथा प्रविधिको माध्यमले मानव बेचबिखन तथा ओसारपसार बढि भइरहेको बताउनुुभयो । मोबाइलबाट फेसबुक, मैसेन्जर, ह्वासअप, इमो लगायतका सामाजिक संजालको दुरुपयोगबाट मानव बेचबिखन तथा ओसारपसार भएका अध्यक्ष श्रेष्ठको भनाइ छ ।

मानव बेचबिखन विदेशमा मात्र नभई स्वदेशमा पनि भइरहेकोले सचेत रहन र शंका लागेमा नजिकको प्रहरी वा स्थानीय जनप्रतिनिधिहरुलाई सूचित गर्न उहाँको आग्रह छ । यो क्षेत्र नेपाल भारतको खुल्ला सिमाभन्दा ३२ किलोमिटरको दूरीमा मात्र रहेकाले सबैलाई चेतनशिल बन्नुपर्नेमा अध्यक्ष श्रेष्ठको जोड छ ।

कार्यक्रममा गाँउपालिकाका सामाजिक बिकास शाखाका प्रमुख धर्मराज थापाले प्रशिक्षण दिनुभएको थियो । थापाले सामाजिक न्यायको पहुच, आर्थिक स्तरमा सुधार भए मानव बेचबिखनमा न्युनीकरण गर्न सकिने बताउनुभयो । गरिबी, अशिक्षा र बेरोजगारीका कारण मानव बेचबिखनको जोखिम उच्च रहेका कारण सचेत रहन उहाँको आग्रह छ ।

कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिहरु, शिक्षक, विद्यार्थीहरु तथा संचारकर्मीहरुको सहभागिता थियो । कार्यक्रममा उनीहरुले समेत सल्लाह सुझाव दिएका थिए ।

कार्यक्रममा लालबहादुर श्रेष्ठको संयोजकत्वमा १३ सदस्सीय मानव बेचबिखन तथा ओसारपसार विरुद्धको समिति गठन समेत गरिएको छ ।


सम्बन्धित समाचार