Logo

२० भदौ, माडी चितवन । दिवाकर सञ्चार केन्द्रद्वारा सञ्चालित माडीको पहिलो रेडियो सामुदायिक रेडियो माडी १०७.६ मेगाहर्जको १३ औं वार्षिकोत्सव समारोह आज बुधवार माडीमा सम्पन्न भएको छ ।

वार्षिकोत्सव समारोहका प्रमुख अतिथि नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले रेडियोको जिङ्गल बजाएर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो । रेडियो माडीको बार्षिकोत्सव उदघाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि श्रेष्टले सामुदायिक रेडियो माडी समुदायको सम्पत्ति भएकोले यसको सस्थागत विकासमा सरकारी तवरबाट सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सामुदायिक रेडियो माडीको लागि अहिले भवन निर्माणको आवश्यकता रहेकोले तीनै तहका सरकारसँग समन्वय गरी भवन निर्माण गर्न सहयोग गर्ने बताउँदै सामुदायिक रेडियोको भवन निर्माण गर्नको लागि जग्गा उपलब्ध गराउने श्रीप्रसाद दवाडी र रविकिरण पौडेलप्रति विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रमा बोल्दै श्रेष्टले दशेका कुनै पनि अपराधमा संलग्न व्यक्तिहरुलाई कानुनको दायरामा ल्याएर कारवाही गर्ने प्रतिबद्दता जनाउँदै भ्रष्टचार, कालोबजारी,गैरकानुनी कार्य नियन्त्रणका लागि सरकारले कसैसँग सम्झौता नगर्ने स्पष्ट पार्नुभयो ।

सोही कार्यक्रममा बोल्दै माडी नगरपालिकाकी नगर प्रमुख ताराकाजी महतोले विकासमा सञ्चारको महत्वपूर्ण भूमिका रहेको हुनाले सञ्चार क्षेत्रको विकासमा माडी नगरपालिकाले आवश्यक सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

वार्षिकोत्सव कार्यक्रमको समापन समारोहमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) का निवर्तमान महासचिव एंव सामुदायिक रेडियो नारायणी एफएम वीरगञ्जका कार्यकारी अध्यक्ष गोविन्द देवकोटाले माडीमा विद्युत नभएको अवस्थामा बैकल्पीक उर्जा मार्फत रेडियो सञ्चालन गरेर माडीका जनताको पीडा राज्य सञ्चालन तहसम्म पुराउन महत्वपूर्ण योगदान दिएको रेडियो माडीलाई माडीका हरेक नागरिकले सहयोग गरेर दिगोढंगले सञ्चालन गर्नुपर्ने बताउनु भयो ।

रेडियो माडीका संरक्षक सन्देश पौडेल, नेपाली कांग्रेसका नेता शोभाकर चापागाई लगायतले रेडियो माडीको स्थायित्वको लागि धारणा राख्नु भएको थियो भने थारु महिला र स्काउटका विद्यार्थीहरुले विभिन्न प्रस्तुति देखाएका थिए ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्यद्वय ठाकुरप्रसाद ढकाल, देबेन्द्र श्रेष्ठ, चितवनका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीलगायतको उपस्थिति रहेको थियो ।

रेडियो माडीका अध्यक्ष ओमनाथ पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दिवंगत सञ्चारकर्मी महावीर विश्वकर्मालाई हिरामती देवकोटा स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो भने सामुदायिक रेडियो माडीका पूर्व अध्यक्षहरुलाई प्रशंसा पत्र र संस्थापकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन रेडियो माडीको सचिव कुविजा पोख्रेलले गर्नुभएको थियो ।


सम्बन्धित समाचार