Logo

२१ भदौ,जनकपुरधाम । धनुषाको जनकपुरधामको सार्वजनिक पोखरीको सौन्दर्यकरणमा संघीय सरकारले तीन वर्षदेखि लाखौँ रुपैयाँ लागनी लगाएपनि काममा भने अनियमितता भएको पाइएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ स्थित कनकपट्टीको ओसरा टोलमा रहेको अधिकारी पोखरीको सौन्दर्यकरणका लागि संघीय आयोजना कार्यान्वयन ईकाईले विभिन्न समयमा सो पोखरी वरिपरी घाट निर्माण, नाला तथा पिसिसि ढलान सडक निर्माणमा अनियमितता भएको पाइएको हो ।

निर्माण कार्य सम्पन्न नहुँदै ढलान गरिएको बाटो भासिएको र दक्षिण तर्फ बनाइएको घाटसमेत भासिने गरेको छ । आर्थिक मसान्तको अन्तिम समयमा हतारहतारमा गरिएको कामप्रति स्थानीयवासीसमेत सन्तुष्ट छैनन् ।पटक पटकको अधिकारी पोखरी वरिपरि पिसिसि सडक ढलान निर्माण, पोखरीमा घाट निर्माणलगायतका काम गर्दा पनि समय नै सकिदैँ पोखरीको दक्षिण र पूर्व तर्फको निर्माण भएको केही सातामै २० फिटको पिसिसि ढलान बाटो भासिएको छ ।

करिब तीन वर्षदेखि पोखरीमा भौतिक संरचना निर्माणका लागि उपभोक्ता समिति मार्फत ५० लाख रुपैयाँ र टेण्डर मार्फत ९७ लाख रुपैयाँको बजेट विनियोजन हुँदापनि कमसल तथा गुणस्तरहीन निर्माण कार्यले स्थानीयवासी चिन्तित बनेका छन् ।लाखौँ रुपैयाँको बजेटमा ठेकेदारले अनियमितता गर्दै लापरवाहीढंगले निर्माण गर्नेक्रममा कमसल तथा गुणस्तरहीन सामग्रीको प्रयोगले पोखरीको घाट र ढलान गरिएको सडक भासिएको स्थानीय उपेन्द्रकुमार यादवले बताए ।

सार्वजनिक पोखरीको भौतिक संरचना निर्माणका क्रममा स्थानीयस्तरमा ठेकेदार वा सम्बन्धित निकायले नागरिक वडा पत्र झुण्ड्याउनुपर्ने व्यवस्था छ । तर स्थानीय नागरिकलाई जानकारी पाउनुपर्ने अधिकारबाट वञ्चित गरिएको स्थानीय विक्रम यादवको गुनासो छ ।जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ का वडाअध्यक्ष रामबृक्ष यादवले अमरज्योति निर्माण सेवा कम्पनीले टेण्डर लिई काम गरिरहेको भन्ने पत्र सम्बन्धित कार्यालयबाट जानकारी आएको र समस्या पर्दा आफुले सहजिकरण समेत गरिदिने गरेको बताउँछन् ।

करिब १८ कठ्ठा जग्गा ओगटेको अधिकारी पोखरीमा उपभोक्ता समिति मार्फत ५० लाख रुपैयाँको योजनामा सडक छेउको पोखरी किनारमा वाल लगाइएको छ भने पोखरीमा तीन वटा घाट निर्माण, पिसिसि सडक ढलान तथा नाला निर्माणको कामको म्याद सम्पन्न भएर अर्कोपटक पुनः आउँदो पुस मसान्तसम्म काम गर्नलाई म्याद थप गरेको छ ।

यसका लागि ९७ लाख रुपैयाँ बजेट रहेको संघीय आयोजना कार्यान्वयन इकाई कार्यालयका आयोजना प्रमुख ईन्जिनियर प्रदीप खनालले जनाएका छन् ।आयोजना प्रमुख ईन्जिनियर खनालका अनुसार स्थानीयवासीको असहयोगकै कारणले समयमै काम सम्पन्न नहुँदा अमरज्योति निर्माण कम्पनीलाई करिब एक महिना अघि ३ महिनासम्म म्याद थप गरेको छ ।

अधिकारी पोखरी वरिपरिको उत्तर तथा पुर्वपट्टी बाटो निर्माण भएपनि पोखरीको डिल तर्फ ढलान गरिएको सडक भासिएको छ । भने पुर्णरुपमा बाकी निर्माण कार्यहरुसमेत सम्पन्न गर्नका लागि ठेकेदार कम्पनीलाई तत्कालै निर्देशन दिएको उनले बताए ।


सम्बन्धित समाचार