Logo

२२ भदौ,वीरगञ्ज । मधेशका जिल्लाहरू मानव बेचबिखनका लागि जोखिमयुक्त देखिएका छन् । खुल्ला सीमानाका कारण यी जिल्लाको बाटो हुँदै मानव बेचविखन हुने गरेको हो । विकट पहाडी क्षेत्र र ग्रामिण भेगका महिला तथा बालबालिका बढी जोखिममा पर्ने गरेका छन् ।

खुल्ला सिमा भएका कारण नेपालमा बालिका, किशोरी, महिलालाई विभिन्न प्रलोभन देखाई भारतमा लगेर बेचबिखन गर्ने गरिएको छ । त्यस्तै दलालहरुले बेरोजगारीमा परेकाहरुलाई रोजगारी दिने, एकल महिलालाई प्रलोभनमा पार्ने गरेका छन् ।

यस्ता प्रलोभनमा पार्ने दलालहरु नेपालका विभिन्न स्थानमा डेरा जमाएर बस्ने तथा यसमा भारतिय नागरिकहरु समेत विशेष रुपमा सक्रिय रहेका छन् । भारतमा राम्रो जागिर लगाई दिने वा भारत भई तेस्रो मुलुकमा पठाई दिने, मिठो राम्रो खान लाउन दिने लगायतका पनि प्रलोभन दलालहरुले बालिका, महिला र किशोरीहरुलाई दिने गरेका छन् ।

खुल्ला सिमा भएका कारणले जुनसुकै नाका प्रयोग गरेर पनि दलालहरु मानव तस्करी गरि सहजै भारत पु¥याउने गरेको मानव बेचबिखन तथा तस्करी विरुद्धको कार्य गर्दै आएको सामाजिक सस्थां साना हात नेपाल वीरगञ्जका अध्यक्ष बाबुराम क्षेत्रीले जानकारी दिनुभयो । उहाँले यसरी मानव बेचबिखनमा परेकाहरुले भारत अथवा तेस्रो मुलुकमा गई विभिन्न दुखहरु भोग्नु परेको बताउनुभयो ।
विशेष गरि सामाजिक सञ्जालबाट झुटो प्रेम सम्बन्ध कायम गरि विवाह गर्ने आश्वासन देखाई भारत तथा तेस्रो मुलुकमा उनीहरुलाई बेच्ने गरेको क्षेत्रीले बताउनुभयो । त्यस्तै उहाँका अनुसार घुम्न लैजाने, जागिर लगाइदिने जस्ता कारणहरुबाट पनि मानव बेचबिखनको जोखिम बढेको छ ।

गत आर्थिक वर्ष ०७९÷०८० मा वीरगञ्ज नाकाबाटै ५५ जनाको मानव बेचबिखनको जोखिमबाट उद्धार गरिएको छ । यसरी उद्धार गरिएकाहरुमध्ये ९ जना बालिका, १९ किशोरी र २७ जना युवती रहेको अध्यक्ष क्षेत्रीको भनाइ छ ।

मानव बेचबिखनको जोखिमबाट उद्धार गरिएकाहरुमा बारा, सर्लाहीका साथसाथै देशका विभिन्न क्षेत्रहरु गरि २९ वटा जिल्लाका रहेका साना हात नेपालले उपलब्ध गराएको तथ्याङकमा उल्लेख छ । सोही समयमा कार्यालयबाट तीन हजार १७४ जनालाई मानव बेचबिखनको जोखिम सम्बन्धि परामर्श दिएको अध्यक्ष क्षेत्रीले बताउनुभयो ।

वीरगञ्ज नाका हुदैँ मानव बेचबिखनको जोखिम बढ्दो छ । तसर्थ यस विषयमा सचेत रहन सरोकारवालाले आग्रह गरेका छन् ।


सम्बन्धित समाचार