Logo

२५ भदौ, वीरगञ्ज । ६० किलो सुन तस्करीको अनुसन्धान अन्तिम चरणमा पुगेको भन्दै प्रहरीले भोली सम्ममा सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

विमानस्थलबाट भएको सुन तस्करीको अनुसन्धानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अन्तिम चरणमा पुर्‍याएको छ । तर, तस्करीमा लगानी गर्ने नेपाली गिरोहसम्म भने प्रहरी अझै पुग्न सकेको छैन ।

थुनामा राख्ने हदम्यादसम्बन्धी प्रावधानका कारण सिआइबीले मंगलबारसम्म अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी गरेको छ । अभियुक्त पक्राउ गरी अनुसन्धान सुरु भएको मंगलबार ५६ दिन पुग्नेछ । ६० दिनभित्र अदालतमा अभियोग दर्ता गरिसक्नुपर्नेछ ।

सरकारी वकिलले पनि अध्ययनका लागि केही दिन मागेकाले मंगलबारसम्म सिआइबीले पहिलो चरणको अनुसन्धान टुंग्याउन लागेको हो । ३० भदौभित्र मुद्दा दर्ता गर्नुपर्ने भएकाले प्रहरी अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए ।

सुन प्रकरणमा सिआइबीले ३० जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । जसमा चिनियाँ नागरिक, भन्सार कर्मचारी, भन्सार एजेन्ट, सुन व्यापारी तथा बिचौलियाहरू छन् । तस्करीको केन्द्रमा चिनियाँहरू नै भए पनि उनीहरूलाई नेपालमा क–कसले सघाएका थिए भन्नेमा प्रहरी अनुसन्धान अघि बढ्न सकेको छैन । पक्राउ परेकाहरूले केही नबताउँदा अनुसन्धानमा ढिलाइ भएको सिआइबी अधिकारीहरूको भनाइ छ ।

चिनियाँ गिरोहलाई सघाउने नेपालीमध्ये किशोर बस्नेत र सुमन खरेल पक्राउ परेका छन् । दुवैलाई प्रहरीले भारतबाट पक्राउ गरी ल्याएको हो । उनीहरूमाथि अनुसन्धान गर्दा बाराका सुन व्यापारी शिव सर्राफ पनि समातिएका छन् । सर्राफले आफ्ना लागि तथा भारतमा तस्करीका लागि सो समूहसँग तस्करीको सुन किन्दै आएको अनुसन्धानबाट पुष्टि भएको छ । साथै अरू धेरै सुन पसललाई सो समूहले तस्करीको सुन बिक्री गर्दै आएको पनि अनुसन्धानमा पत्ता लागेको छ ।

कलैया सुनचाँदी व्यवसायी संघका अध्यक्ष समेत रहेका शिवकुमार सरार्फले बारा र पर्साको नाका भएर सुन भारत तर्फ तस्करी गर्दै आएका थिए । वीरगञ्जमा रहेका करिव एक दर्जन सुन पसलेहरु समेत अवैध मार्ग भएर आएको सुन खरिद गरी भारत तर्फ तस्करी गर्दै आएका छन् । प्रहरीले उनीहरुलाई निगरानीमा राखेपनि हाल सम्म नियन्त्रणमा लिएको छैन ।

समाचार स्रोतका अनुसार सुनचाँदीको कारोवारमा वीरगञ्ज देखि विराटनगर सम्मका ३ दर्जन व्यवसायी प्रहरीको निगरानीमा छन् । वीरगञ्जका अभिषेक स्वर्ण रेफ्रेनरी कम्प्युटर प्राली, आर्दश स्वर्णकला केन्द्र, माँ बैष्णवी ज्वेलर्स, सरार्पm ज्वेलर्स उद्योग, श्री प्रभुराम ज्वेलर्स र विशाल स्वर्णकला केन्द्रको नाउँबाट कारोवार गर्ने अभिषेक सोनार, सिवी ज्वेलर्स र शिवम् ज्वेलर्स, माँ दुर्ग ज्वेलर्स, माँ लक्ष्मी ज्वेलर्स, आर एण्ड सन्र्स र आरके बुलियन प्रालि मार्फत कारोवार गर्ने सन्दीप र शंकर साह सोनार समेत सिआईवीको निगरानीमा रहेपनि उनीहरुलाई प्रहरीले अहिले सम्म पक्राउ गरेको छैन ।

वीरगञ्जका प्रदीप एण्ड सन्स ज्वेलर्सका संचालक रविन्द्र साह सोनार र केपी स्वर्णकला केन्द्रका संचालक कन्हैया साह सोनारको नाउँ समेत अवैध सुनको कारोवारीको लिष्ट रहेको छ । कन्हैया साह सोनार यसअघि पटक पटक प्रहरी र राजश्व अनुसन्धान कार्यालयले पक्रउ गरेर कार्वाहीमा परेका व्यवसायी हुन । कन्हैया सुनचाँदी व्यवसायी संघ पर्साका अध्यक्ष भूलन साह सोनारका सहोदर भाई हुन ।

वीरगञ्ज देखि विराटनगर सम्मका सुनचाँदीको अवैध कारोवारमा सलंग्न कारोवारीहरुको लिष्ट सिआईवीले तयार गरेपनि पहिलो चरणको कार्वाहीमा उनीहरुलाई पक्राउ गरेको छैन । अवैध सुन खरिद गरेर भारत तर्फ तस्करी गर्ने समूहमाथि संगठीत अपराधमा कार्वाही चलाउन सक्ने भएकोले ६० किलो सुनको कार्वाही अदालत पठाएपछि दोश्रो चरणको अनुसन्धानमा सुन तस्करहरुलाई कार्वाही गर्ने योजना बनाइएको छ ।

सिआइबीकी निर्देशक एआइजी किरण बज्राचार्यको नेतृत्वमा ३३ जनाको अनुसन्धान टोलीले यो प्रकरणका विभिन्न पाटामाथि अनुसन्धान गरिरहेको छ । चिनियाँहरूले सुन तस्करीको लेनदेन मिलाउन क्रिप्टोकरेन्सीको कारोबार पनि गरेको प्रमाण प्रहरीले भेट्टाएको छ । कतिपय भुक्तानी हुन्डीमार्फत समेत हुने गरेको थियो । त्यस्तै, तस्करीमा संलग्न चिनियाँहरूले नेपाली नागरिकता र पासपोर्ट लिएको विषयमा पनि छुट्टै अनुसन्धान भइरहेको छ । हदम्यादका कारण अहिले मुद्दा बुझाए पनि यसमा अनुसन्धानले निरन्तरता पाउने सिआइबीका निर्देशक बज्राचार्यले बताए ।

सुन तस्करीको काठमाडौंमा व्यवस्थापन गर्ने दावा छिरिङसँग सयौँ व्यक्तिको सम्पर्क देखिएको छ । अनलाइन च्याटमा शंकास्पद कुराकानी देखिए पनि प्रमाणसँग जोड्न नसक्दा उनीहरूलाई प्रहरीले पक्राउ गरेको छैन । जसकारण शंकास्पद व्यक्तिलाई प्रहरीले बयान कागज गराएर छाडेको छ । ‘उनीहरूले निकै चतुर तरिकाले तस्करीको सञ्जाल बनाएको देखिन्छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘सुन पसलेहरूसँग कारोबार गर्दा सांकेतिक भाषा प्रयोग गरेका छन् भने नाइके र भरियाबीच प्रत्यक्ष सम्पर्क देखिँदैन ।’

प्रहरीले पक्राउ गरे पनि जोगिने योजनाका साथ उनीहरूले सयौँ केजी सुन विभिन्न सामानभित्र लुकाएर विमानस्थल भन्सारबाट पास गराएका थिए । जसमा भन्सार कर्मचारीले नै सघाएको दाबीसहित प्रहरीले सातजना भन्सार कर्मचारीलाई थुनामा राखेको छ । तर, उनीहरूबीच लेनदेनको प्रमाण भने फेला परेको छैन । नेता, कर्मचारी तथा अन्य व्यापारीसँग सुन तस्करीमा संलग्न चिनियाँको सम्बन्धबारे अब दोस्रो चरणमा अनुसन्धान हुने भएको छ ।

पटक–पटक सुन तस्करी हुँदै आएको सूचनाका आधारमा राजस्व अनुसन्धान विभागले गत २ साउनमा भन्सारबाट पास भएको करिब ६० किलो सुन बरामद गरेको थियो । तस्करी संगठित किसिमको देखिएपछि विभागले अनुसन्धानको जिम्मा तीन सातापछि प्रहरीलाई दिएको थियो ।


सम्बन्धित समाचार