Logo

२५ भदौ,वीरगञ्ज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्योग व्यवसायले गति नलिएसम्म आर्थिक रूपान्तरण हुन नसक्ने र मुलुक समृद्धिको बाटोमा लम्कीन नसक्ने बताउनुभएको छ । वीरगञ्जमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजनामा वाणिज्य नीति मस्यौदाका सम्बन्धमा मधेश प्रदेशस्तरीय छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले परिस्थितिवश मुलुकले राजनीतिक रूपमा धेरै उतारचढाव हेरिसकेकाले अबका दिन आर्थिक विकास र निर्माणका रूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले सरकारका तर्फबाट हुने सक्ने सबै प्रकारको सहयोग र सहकार्य गर्न सरकार तयार रहेकाले दुविद्यामा नपर्न सबैसँग आग्रह गर्नुभयो । उहाँले उद्योगी व्यापारीमाथि शङ्का उपशङ्का एवं नकारात्मक दृष्टिकोणले हेर्न नहुने बताउँदै व्यवसायीले व्यापार गरेर सहज रूपमा पैसा कमाउने र मेहनत गरेर राष्ट्रलाई सहयोग गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारीले अनुगमनको नाममा चाहेकोभन्दा बढी दुःख दिँदा उद्योगी व्यवसायीको मनोबल घट्दै गएकाले उद्योग व्यवसायमा ह्रास आएको र त्यसको फाइदा बिचौलियाले लिने गरेको बताउनुभयो ।

वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले सबैभन्दा बढी राजस्व वीरगन्जले दिने गरेकाले वीरगञ्जलाई औद्योगिक तथा व्यापारिक नगरी घोषणा गरी सो अनुरूपको सुविधा र सहज वातावरण बनाई लगानी भित्रिने कानुनको निर्माण नभएसम्म मुलुक समृद्ध नहुने बताउनुभयो ।


सम्बन्धित समाचार