Logo

भदौ २६,काठमाडौं । मोरक्कोमा गत शुक्रबार आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या करिब २ हजार ५ सय पुगेको छ । घाइतेहरूको संख्या २ हजार ४ सय ७६ पुगेको मोरक्कोको आन्तरिक मन्त्रालयले जनाएको छ ।

अमेरिकन जिओलोजिकल सर्भेका अनुसार मोरक्कोको माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा रहेको हाई एटलस माउन्टेनलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति ६।८ म्याग्निच्युडको भूकम्प आएको हो । स्थानीय समयअनुसार राति ११ बजे आएको भूकम्पको गहिराइ १८।५ किलोमिटर रहेको बताइएको छ । तर, भूकम्प प्रभावित पहाडी क्षेत्र पुग्ने सडकमा ठूला ढुंगाको अवरोधका कारण उद्धारमा ठूला उपकरणको प्रयोग गर्न नमिलेको र उद्धारकर्ताले हातैको प्रयोग गरेर भग्नावशेषमा फसेकाहरूको उद्धार गरिरहेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार धेरै व्यक्ति भूकम्पले बनाएको खण्डहरूमा बसिरहेको र राहत पर्खिरहेका छन् । हालसम्म मोरक्कोले बेलायत, स्पेन, कतार र यूएईको सहयोग मात्र स्विकारेको छ । मोरक्कोका आन्तरिक मामिला मन्त्रालयका अनुसार भूकम्पको धक्काबाट थुप्रै भवन तथा भौतिक संरचना भत्किएका छन् ।

कतिपय भत्किएका भवनमा मानिसहरू पुरिएर रहेको हुन सक्ने आकलन गरिएको छ । मोरक्कोमा यसअघि पनि विभिन्न समयमा शक्तिशाली भूकम्पले ठूलो क्षति पुर्‍याएका थिए । २००४ मा शक्तिशाली भूकम्प जाँदा ६ सय २८ जनाको मृत्यु भएको थियो । त्यस्तै १९६० को शक्तिशाली भूकम्पमा १२ हजारको ज्यान गएको थियो ।


सम्बन्धित समाचार