Logo

२६ भदौ,काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ।

नेम्वाङको निधनपछि मंगलबार बसेको पार्टी केन्द्रीय सचिवालयको आकस्मिक बैठकले नेम्वाङका विशेष योगदानहरुको स्मरण गर्दै शोक प्रस्ताव पारित गरेको हो।

बैठकपछि सञ्चारकर्मीसँग बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले ३ दिनसम्मका पार्टी र पार्टीसम्बद्ध सबै जनवर्गीय संगठनका औपचारिक कार्यक्रम स्थगित गर्ने निर्णय भएको जानकारी दिए।

एमालेले ३ दिनसम्म पार्टी केन्द्रीय कार्यालय तथा सबै प्रदेश र जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने पनि निर्णय गरेको छ। सबै पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय भएको ज्ञवालीले जानकारी दिए।

यस्तै, असोज २ गते पार्टी केन्द्रीय कार्यालयको आयोजनामा विशेष श्रद्धाञ्जली सभा आयोजना गर्ने निर्णय भएको छ। प्रतिनिधि सभाका सदस्य एवम् एमाले संसदीय दलका उपनेता नेम्वाङ काठमाडौंको बालुवाटारस्थित आफ्नो निवासमा अचेत अवस्थामा फेला परेपछि त्रिवि शिक्षण अस्पताल पुर्‍याइएको थियो।

मंगलबार बिहान १ः५० अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषित गरेका थिए। अस्पतालका १ जना चिकित्सकका अनुसार शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुर्‍याइँदा नेम्वाङ जीवित रहेको कुनै संकेत थिएन। यद्यपि मुटुको धड्कन फर्काउने प्रयासस्वरुप सीपीआर (कार्डियोपल्मोनरी रिससिटेसन) गरिएको थियो।

मुटुको चाल फर्काउने प्रयास असफल भएपछि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। नेम्वाङको निधनको खबरपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरु मंगलबार बिहानै अस्पताल पुगेका थिए। प्रमुख दलका शीर्ष नेताहरु अस्पताल पुगेका थिए।

अस्पतालबाट विशेष सम्मानसहित केही समय अगाडि नेम्वाङको पार्थीव शरीर निकालिएको थियो। सरकारले नेम्वाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ।

मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकले नेम्वाङको अन्त्येष्टिको दिन देशभर शोक बिदा दिने निर्णय समेत गरेको छ।

नेम्वाङको निधनपछि मंगलबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो। नेम्वाङका २ छोराहरु विदेशमा रहेको र उनीहरु स्वदेश फर्किन लागेकाले उनीहरु आएपछि मात्रै अन्तिम संस्कार गरिने परिवार स्रोतले जानकारी दिएको छ।


सम्बन्धित समाचार