Logo

२६ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले गैरकानूनी रुपमा भर्ना गरेका करिव ४ सय ५० जना दैनिक ज्यालादारी र डोर हाजिरी कर्मचारीलाई जागिरबाट बर्खास्त गरेको छ ।

महानगरका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेलले आज एक सूचना जारी गर्दै विभिन्न मिति र विभिन्न पदमा कामकाज गर्दै आएका दैनिक ज्यालादारी र डोर हाजिरीका कर्मचारीलाई आजैको मिति देखि कामकाजमा नलगाउने गरी कामबाट बर्खास्त गरिएको जनाउनु भएको छ ।

वीरगञ्ज महानगरपालिकामा गैरकानूनी रुपमा कर्मचारी भर्ना गरिएको र वीरगञ्ज महानगरपालिकाको आन्तरिक राजश्वबाट बार्षिक १८ करोड खर्च भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रमा उजुरी परेको थियो ।

आयोग र केन्द्रले वीरगञ्ज महानगरपालिकासँग पटक पटक कर्मचारी भर्ना सन्दर्भमा जवाफ मागे पनि कर्मचारी भर्ना गर्नुपर्ने कारण खुलाउन नसकेको अख्तियार अनुसन्धान आयोग स्रोतले जनाएको छ ।

जथाभावी कर्मचारी भर्ना गरेको भन्दै वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी प्रसाद पौडेललाई सतर्कता केन्द्रले कार्वाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गर्ने सुइको पाएपछि पौडेलले आज दैनिक ज्यालादारी र डोर हाजिरमा काम गर्दै आएका कर्मचारीलाई सेवाबाट बर्खास्त गर्नु भएको हो ।

वीरगञ्ज महानगरपालिकाको आन्तरिक आय घटदो क्रममा रहेको र दरवन्दी नभएको ठाउँमा दैनिक ज्यालादारी र डोर हाजिर गराउने गरी कर्मचारी भर्ना गरेको बिषयमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको समेत आलोचना हुर्दै आएको थियो ।

महानगरपालिकाको सूचनाबाट नगरप्रहरी, दमकल, सरसफाई, वडा कार्यालय, स्वास्थ्य चौकी, महाशाखा, शाखा, उपशाखा समेत विभिन्न पदमा कार्यरत करिव ४ सय ५० जना कर्मचारी सेवाबाट हटाइएको महानगर स्रोतले जनाएको छ । दैनिक ज्यालादारी र डोर हाजिरी कर्मचारीलाई मात्र मासिक १ करोड ५० लाख तलवमा खर्च हुनेगरेको महानगरपालिकाले जनाएको छ ।

हटाइएको मितिबाट डोर हाजिर प्रमाणित गर्ने कर्मचारीले कुनै कर्मचारी राखेको खण्डमा त्यस्ता कर्मचारीको तलव सुविधा प्रमाणित गर्ने पदाधिकारीको निजी सम्पत्तिबाट तलब भत्ता ब्यहोर्न सूचनामा भनिएको छ । वीरगञ्ज महानगरपालिकाले व्यहोर्दै आएको अनवाश्यक व्यायभार कम गर्न यस्तो निर्णय लिन परेको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताउनु भयो ।


सम्बन्धित समाचार