Logo

२७ भदौ, वीरगञ्ज । गएरातीबाट बालगृहका कैदी वन्दीको घेरामा थुनिएका वीरगञ्ज बालसुधार केन्द्रका प्रमुख आज विहान ९ बजे उनीहरुको नियन्त्रणबाट बाहिर आएका छन् । बलसुधार गृहका बाल कैदीवन्दीेविच एकआपसमा लडाईँ शुरुभएपछि केन्द्रका प्रमुख टिकाकृष्ण काफ्ले गएराति ८ बजे देखिनै बन्दीगृह भित्र थुनिएका थिए ।

सुधारगृहका किशोरहरुको ढुंगामुढा र तोडफोड शुरु भएपछि प्रहरीले बाहिरबाट सुरक्षा घेरा हालेपनि भित्र उनीहरुको वितण्डा रोकिएको थिएन । प्रहरीको बाहिरी घेरा र बाल सुधार गृहका किशोरहरुको प्रदर्शनले बाल सुधार गृहका प्रमुख भने भित्रै फसेका थिए । बाल सुधार गृहका प्रमुख टिकाकृष्ण काफ्ले आज बिहान मात्रै बाहिर निस्कन सकेको उनले बताए ।

“रातभर ज्यान जोखिममा थियो, तपाईहरुको समस्या बाहिर निस्केपछि समाधान गर्छु भनेर त्यहाँबाट उम्कन सफल भए,” काफ्ले भने । उनीहरुको माग तत्काल सम्वोधन नभएकोले अहिले पनि बालसुधार गृहमा उनीहरुको वितण्डा नरोकिएको काफ्ले जानकारी दिए ।

रातभर तनावग्रस्त बनेको पर्साको वीरगञ्जस्थित बाल सुधार गृह अहिले १२ बजे सम्म तनावग्रस्तनै रहेको छ । बलसुधार केन्द्रमा गएरातिदेखि प्ररीहरुको सुरक्षा सतर्कता कायम राखिएको छ । प्रहरीले भित्रबाट ढुंगाइट्टा प्रहार गर्ने २ जना बालवन्दीलाई नियन्त्रणमा लिएको छ ।

गएराति दुई समूहबीच भएको झडपमा ११ जना कैदीबन्दी र ३ जना प्रहरी घाइते भएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले बताउनुभयो । घाईतेहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
बाल सुधार गृहमा तनाव भएको खबर पाएपछि प्रहरी परिचालन गरिएको थियो । त्यसपछि झन् आक्रोशमा आएकाहरुले बाल सुधार गृहमा तोडफोड गर्नुका साथै प्रहरीमाथि पनि ढुंगामुढा प्रहार गरेका थिए ।

प्रमुख प्रहरी उपरीक्षक शाहका अनुसार आज बिहानको अवस्था अझै तनावग्रस्त रहेको छ । उनीहरुले बलसुधार गृहमा दिने खाना गुणस्तरहिन भएको र वालगृहका प्रशासकबाट पटक पटक यातना दिने गरेको आरोप लगाएका छन् ।

स्थानीय प्रशासनले उनीहरुसँग छलफलको प्रयास जारी राखेको छ । यसअघि यही भदौ ४ गते भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा पनि तनाव भएको थियो । एक जना कैदीबन्दीको मृत्यु भएपछि उत्पन्न तनावका बीच त्यहाँबाट केही कैदीबन्दीहरु भागेका थिए ।

त्यसपछि भक्तपुरमा रहेका १८ जना कैदीबन्दीलाई वीरगञ्जको बिर्तास्थित बाल सुधार गृहमा पठाइएको थियो । त्यहाँ पहिल्यैदेखि रहेकाहरु र भक्तपुरबाट पठाइएकाहरुको समूहबीच विवाद हुँदा झडप भएको बताइएको छ ।

बालसुधार केन्द्रमा भएको पछिल्लो घटनाका सन्दर्भमा स्थानीय प्रशासनले कुनै जानकारी गराएको छैन । बालसुधार गृहमा रहेका वन्दीकैदीहरुले आफूलाई अन्यत्र लैजान नहुने बरु वीरगञ्ज कारागारमा जान तयार रहेको भन्दै त्यसको व्यवस्था मिलाउन माग गरेका छन् ।

उनीहरुले गएराति देखि भएको घटनामा स्थानीय प्रहरी प्रशासनले यातना दिन सक्ने भन्दै त्यसको सुरक्षाको ग्यारेन्टी गर्न समेत माग गरेका छन् ।


सम्बन्धित समाचार