Logo

२७ भदौ, काठमाडौं । करिब ६१ केजी सुन प्रकरणमा ५० जनाविरुद्ध मुद्दा चलाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सरकारी वकिलको कार्यालयलाई राय दिएको छ।

सीआईबीले बुधबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका ९ विदेशीसहित ३२ जना तथा फरार रहेका १४ विदेशीसहित १८ जनाविरुद्ध मुद्दा चलाउन राय दिइएको जनाएको छ ।

व्यूरो प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले यो प्रकरणमा हालसम्म सबै बरामद ब्रेक प्याडहरुलाई जोख्दा ३०२ किलो ६२० ग्राम सुन ल्याएको देखिएकाले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ को बिगो कायम गरेर मुद्दा अघि बढाउन राय दिइएको छ।

सीआईबीले राजस्व अनुसन्धान विभागले पक्राउ गरेका १६ सहित हालसम्म ३२ जना पक्राउ परेका जनाएको छ। जसमा २३ जना नेपाली र ९ जना विदेशी नागरिक छन्।

त्यसैगरी अहिलेसम्म १४ जना विदेशी र ४ जना नेपाली फरार छन्। उनीहरुलाई पनि यो प्रकरणमा प्रतिवादी बनाइएको छ।

उक्त सुन चिनियाँ समूहले पाँचवटा कम्पनी खडा गरेर ल्याएको खुलेको बज्राचार्यले बताइन्। उनका अनुसार इलेक्ट्रिक वस्तुसहित अन्य वस्तुका कार्टुनमा पनि सुन ल्याएको खुलेको छ।

यस प्रकरणमा जोडिएका पाँचजना विदेशी नागरिकले झुटा विवरण राखेर नागरिकता निकालेको पनि बज्राचार्यले बताइन्। उनका अनुसार नेपालमा सुन तस्करीमा ताइवानका नागरिक पनि जोडिएका छन्। धेरैजसो नेपाल, चीन र भारतका पनि नागरिक छन्।

सुन तस्करी गर्न खडा गरिएका थप ५ वटा कम्पनीमाथि अनुसन्धान जारी रहेको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ ।

अवैध सुन पैठारी गर्न खडा गरिएका अन्य पाँच वटा कम्पनीमार्फत ल्याइएको सुनको विवरण एकिन गर्नका लागि अनुसन्धान जारी रहेको सीआईबीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

उनले यो प्रकणमा पक्राउ परेका ३२ जनामध्ये ५ जना विदेशी नागरिकहरुले झुटा विवरण पेश गरी नेपाली नागरिकता तथा राहदानी समेत लिएको पुष्टि भएको भन्दै सीआईबीले यस सम्बन्धमा समेत थप अनुसन्धान भइरहेको जनाएको छ ।

सीआईबीले सुन तस्करी प्रकरणमा संलग्नहरुविरुद्ध छु्ट्टाछुट्टै ४ वटा मुद्दा चलाउन पनि जिल्ला अदालत काठमाडौँलाई राय दिएको जनाएको छ ।

थापाले भन्सार ऐन २०६४ को दफा ५७ (१) (३) को १ (ख), संगठित निवारण ऐन २०७०, नेपाल राष्ट्र बैंक २०५८ को दफा ९५ र मुलुकी अपराध संहिता, २०७४ को दफा ४३ को एकीकृत कसुरमा मुद्दा चलाउन राय दिइएको बताए ।

यो प्रकरणमा पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक पनि रहेका छन् । उक्त प्रकरणमा भन्सार एजेन्ट र सुन व्यापारीसमेत मुछिएका छन् ।

गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो ।

विभागले आवश्यक अनुसन्धान सकेपछि १८ दिनपछि सुन प्रकरणको अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको थियो ।


सम्बन्धित समाचार