Logo

२७ भदौ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले सुन तस्करी प्रकरणमा थप अनुसन्धान जारी नै राख्ने भएको छ ।

साउन २ गते बरामद भएको ब्रेक शुमा लुकाएर ल्याएको करिव ६१ किलो सुनको अनुसन्धान गरेको सीआईबीले आज सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको छ । यो समूहले ब्रेक शुमै लुकाएर थप ३०२ किलो सुन ल्याएको निष्कर्ष सहित सुन प्रकरणमा सिआईवीले थप अनुसन्धान गर्ने भएको हो ।

सीआईबी प्रमुख किरण बज्राचार्यका अनुसार यो समूहले तस्करीका लागि नेपाली नागरिकहरुलाई प्रयोग गरेर ७ वटा कम्पनी खोलेका थिए । त्यसमध्ये एउटा कम्पनीबाट सामान आयात भएर भन्सारबाट पास भएको थिएन । अरु कम्पनीले भने विद्युतीय उपकरणहरु ल्याएर भन्सार पास हुने गरेको पाइएको छ । त्यस्ता समानमा सुन ल्याएको सीआईबीको आशंका छ ।

ब्रेक प्याड (शु) ल्याएको रेडी ट्रेडले मात्र गत साउन २ गते सिनामंगलबाट बरामद भएको करिव ६१ किलो सहित ३६२ किलोभन्दा बढी सुन ल्याएको सीआईबीको निष्कर्ष छ ।

अरु कम्पनीबाट ल्याइएको इलेक्ट्रिक सामानमा पनि सुन आएको देखिएको भन्दै सीआईबी प्रमुख बज्राचार्यले भनिन्, ‘अहिले ब्रेक प्याडको मात्र अनुसन्धान गरेका छौं, अरु सुनको अनुसधान गर्न बाँकी छ । यसमा पुरक अनुसन्धान हुनेछ ।’

तस्करीमा अन्तर्राष्ट्रिय गिरोह संलग्न भएको सीआईबीको निष्कर्ष छ । यो अन्तर्राष्ट्रिय अपराध भएको भन्दै यसमा ताइवान, हङकङ र मकाउमा बस्ने चिनियाँ नागरिक, भारत र नेपाली नागरिकको संलग्नता देखिएको र पर्फेक्ट अर्गनाइजनल क्राइम गर्ने समूहहरुले जसरी काम गरेको पाइएको समेत उनले सुनाइन् ।

सिआईवीले सुन तस्करी प्रकरणमा थप अनुसन्धान जारी राख्ने भएपछि वीरगञ्जका सुन तस्करहरु वीरगञ्ज छोड्ने तयारीमा रहेको एक व्यवासायीले बताए । सुन तस्करीमा वीरगञ्ज र कलैयाका एकदर्जन व्यापारीको संलग्नता देखिएको छ । उनले गरेको कारोवारको विवरण राजश्व विभागले समेत आन्तरिक रुपमा लिइरहेको स्रोतले जनाएको छ ।

समाचार स्रोतका अनुसार सुनचाँदीको कारोवारमा वीरगञ्ज देखि विराटनगर सम्मका ३ दर्जन व्यवसायी प्रहरीको निगरानीमा छन् । वीरगञ्जका अभिषेक स्वर्ण रेफ्रेनरी कम्प्युटर प्राली, आर्दश स्वर्णकला केन्द्र, माँ बैष्णवी ज्वेलर्स, सरार्फ ज्वेलर्स उद्योग, श्री प्रभुराम ज्वेलर्स र विशाल स्वर्णकला केन्द्रको नाउँबाट कारोवार गर्ने अभिषेक सोनार, सिवी ज्वेलर्स र शिवम् ज्वेलर्स, माँ दुर्ग ज्वेलर्स, माँ लक्ष्मी ज्वेलर्स, आर एण्ड सन्र्स र आरके बुलियन प्रालि मार्फत कारोवार गर्ने सन्दीप र शंकर साह सोनार समेत सिआईवीको निगरानीमा रहेपनि उनीहरुलाई प्रहरीले अहिले सम्म पक्राउ गरेको छैन ।

वीरगञ्जका प्रदीप एण्ड सन्स ज्वेलर्सका संचालक रविन्द्र साह सोनार र केपी स्वर्णकला केन्द्रका संचालक कन्हैया साह सोनारको नाउँ समेत अवैध सुनको कारोवारीको लिष्ट रहेको छ । कन्हैया साह सोनार यसअघि पटक पटक प्रहरी र राजश्व अनुसन्धान कार्यालयले पक्रउ गरेर कार्वाहीमा परेका व्यवसायी हुन । कन्हैया सुनचाँदी व्यवसायी संघ पर्साका अध्यक्ष भूलन साह सोनारका सहोदर भाई हुन । सिआईवीले दोश्रो चरणका अनुसन्धान गर्ने भएपछि उनीहरुले स्थानीय प्रहरी प्रशासनसँग समेत सेटिङको लागि हारगुहार गर्दै हिडेका छन् ।

 


सम्बन्धित समाचार