Logo

२७ भदौ, वीरगञ्ज । हिजो साँझ देखि तनावग्रस्त रहेको वीरगञ्ज स्थित बालसुधार केन्द्रका आन्दोलनरत बालवन्दी र स्थानीय प्रहरी प्रशासन विच अहिले बार्ता भइरहेको छ ।

बालबन्दीहरुले उठाएको मागका सन्दर्भमा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कोमल शाह, मानवअधिकारकर्मी, सञ्चारकर्मी र आन्दोलनरत पक्षका बलबन्दीका प्रतिनिधि विच छलफल भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताउनु भयो ।

बालबन्दी केन्द्रमा आन्दोलन गर्ने बालबन्दीहरुले भक्तपुरबाट आएका १८ जनालाई वीरगञ्जबाट सरुवा गुर्नपर्ने, बालवन्दीहरुले कानूनत पाउनु पर्ने सुविधा बढाउनु पर्ने, राशन गुणस्तर हुनुपर्ने र प्रशासनको तर्फबाट कुनै प्रकारको बल प्रयोग र यातना दिने कार्य बन्द गरिनुपर्ने माग राखेको बताइएको छ ।

भक्तपुरको बाल सुधार केन्द्रबाट आएका १८ जनाको समूह र त्यहीँ बालसुधार केन्द्रमा रहेका १३२ जना बालवन्दी विच एकआपसमा तनाव शुरुभई बालसुधार केन्द्र भित्रबाट सुरक्षामा खटिएका प्रहरीमाथि ढुंगा र इट्टा प्रहार भएको थियो । उक्त घटनामा १२ जना बन्दी र ३ जना प्रहरी कर्मचारी घाइते भएका छन् ।

अहिले बार्ता भइरहेकोले स्थिती सामान्य बन्दै गएको बाल सुधार केन्द्रका प्रमुख टिकाकृष्ण काफ्ले बताउनु भयो । सुधारकेन्द्रका प्रमुखलाई समेत आन्दोलनरत पक्षले झण्डै १२ घण्टा बालसुधार केन्द्र भित्र नियन्त्रणमा लिएका थिए । हिजो साँझ ८ बजे देखि आन्दोलनरत पक्षको नियन्त्रणमा रहनु भएका काफ्ले आज विहान ९ बजे मात्र उनीहरुको नियन्त्रणबाट उम्कनु भएको थियो ।


सम्बन्धित समाचार