Logo

२८ भदौ,वीरगञ्ज । मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित अस्पतालमा कार्यरत दुईजना डाक्टरमाथि कुटपिट गरिएको छ । आफन्तको मृत्यु भएको निहुँमा हेटौँडा पदम पोखरीका केहि युवाहरूको समूहले अस्पतालभित्रै पसेर डाक्टर विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट गरेका हुन् ।

डा. थापा र बिडारी हेटौँडा वडा नं.१ मा रहेको सन्चो अस्पतालमा कार्यरत छन् । एक महिना अघि हेटौँडा पदमपोखरीका एक जना पुरुषको डेङ्गुको कारण मृत्यु भएको थियो । उनको मृत्यु डाक्टरको लापरबाहीले भएको भन्दै युवाको समूहले थापा र विडारीमाथि हातपात गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

डेङ्गु र श्वास प्रश्वासको समस्या लिएर उपचारमा आएका एक जना बिरामीको सन्चो अस्पतालमा उपचार गरिएको र चितवनमा उपचारका क्रममा मृत्यु भएको थियो । मृत्यु भएको एक महिनापछि उनका आफन्त सहितका युवाहरू अस्पताल प्रवेश गरेर दुई जना डाक्टरमाथि कुटपिट गरेको प्रहरीको भनाई छ ।

हातपातबाट डा. विडारीको आँखा र अनुहारमा चोट लागेको छ भने डा. थापाको गाला र अनुहार सुनिएको छ ।


सम्बन्धित समाचार