Logo

२८ भदौ,वीरगञ्ज । ‘सोमवार/ शुक्रवार’ अर्थात् बारको नाम । सामान्यतः हप्तामा आउने ‘वार’को नाम नै हो, जुन सबैलाई अवगत छ । तर होइन । यो २ वटा वार पर्सा प्रहरीको लागि भने टाउँको दुखाइको विषय मात्र बनेको छैन गम्भीर ‘बार’ को रुपमा चुनौतीको विषय बनेको छ । यसलाई अझ बढी सरल हिसाबमा बुझौं ।

पर्सा प्रहरीले आव २०७९/०८० को अपराधबारे प्रगती विवरण सार्वजनिक गर्‍यो । जुन प्रगती विवरणमा जिल्लामा भएको अपराधबारे गहन विश्लेषण गरिएको छ । जहा लेखिएको छ– पर्सामा कुन महिना र बारमा बढी अपराध हुन्छ । प्रहरीकोे त्यो विश्लेषणात्मक प्रगती प्रतिवेदनमा सोमबार र शुक्रबार अपराधको बार रहेको उल्लेख छ ।

अब ‘वार’मा हुने अपराधको पहिला चर्चा गरौं ।

आव ०७९/०८० मा पर्सामा २२७२ वटा जघन्य प्रकृतिका अपराध भएका छन् ।यसलाई हरेक दिनमा हेर्ने हो भने सरदर अनुपातमा ६ वटा भन्दा बढी अपराधिक घटना प्रत्येक दिन भइरहेको छ । प्रहरीले यही तथ्यांकलाई मध्यनजर गरेर प्रत्येक दिन हुने अपारधबारे बेग्लै विश्लेषण गरेको छ जहाँ हरेक दिन भएको घटनाको तथ्यांक राखिएको छ । त्यो तथ्यांकमा पर्सामा सोमबार र शुक्रवार सबै भन्दा बढी अपराध हुने गरेको प्रहरी रेकर्डमा उल्लेख छ । वर्षभरिमा भएको कुल घटनामा आइतवार ३०८, सोमवार ३९६, मंगलवार २८९, बुधवार ३३०, बिहीवार ३२५, शुक्रवार ३३५ र शनिवार २८९ वटा घटना भएका छन् । यो तथ्यांकमा सोमवार र शुक्रवार सबैभन्दा बढी घटना घटेको देखिन्छ ।

कुन महिनामा बढी अपराध ?
पर्सा प्रहरीले वारसंगै महिनामा हुने अपराधबारे पनि विश्लेषण गरेको छ । प्रहरीको विश्लेषणमा महिनाको हिसाबले हेर्ने हो भने बढी पौष महिनामा ३३० वटा अपराधिक गतिविधि भएको छ । त्यसैगरी बढी अपराध हुने महिनाको दोस्रो स्थानमा चैत रहेको छ जसमा २३१ वटा घटना भएका छन् । यसैगरी वैशाखमा १३५, जेठमा २०३,असारमा २०३, साउनमा १९७, भदौंमा २१३, असोजमा १६७, कार्तिकमा १५५, मंसिरमा १३६, माघमा २१४ र फाल्गुन महिनामा २२१ वटा मुद्दा दर्ता रहेको प्रहरी अभिलेख छ ।

किन ?
प्रहरीले सार्वजनिक गरेको अपराध विश्लेषणको तथ्यांकमा वारमा सोमवार र शुक्रवार, महिनामा भने पौष महिनामा अपराध बढी हुने गरेको उल्लेख । खासगरी यी बार नै जिल्लामा किन बढी अपराध हुन्छ प्रश्नवाचक चिन्ह खडा मात्र भएको छैन चिन्ताको विषय समेत बनेको छ । किन यी वार नै बढी अपराध हुन्छ भनेर रेस खबरले सोधेको प्रश्नमा पर्सा प्रहरीको ठोस जवाफ आएन ।

पर्सा प्रहरी प्रमुख कोमल शाहले आफूहरुले साउन महिनामा सार्वजनिक गरेको तथ्यांक खाली सूचनाका लागि भएको बताए । ‘जसमा २ वटा वारमा बढी अपराध भएको देखिन्छ,’उनले भने । तैपनि अपराधिक गतिविधि निरुत्साहित पार्नका लागि पर्सा प्रहरीले स्वीप अपरेशनदेखि लिएर सूचना संकलन तथा विभिन्न खाले गस्तीहरु गर्दै आइरहेको पर्सा प्रहरी कमाण्डर शाहको दाबी छ ।
बढ्नुका कारण…
पर्सा प्रहरीको अकर्मण्यताका कारण खासगरी २ वटा ‘वार’ मा तोकेर अपराध भइरहेको सुरक्षा मामिलाका जानकारहरु बताउँछन् । उनीहरु भन्छन्,‘जब प्रहरीलाई जानकारी छ,यी वार वा महिनामा बढी अपराधिक क्रियाकलाप भइरहेको छ तब किन त्यसलाई निस्तेज पार्ने रणनीति अवलम्वन गर्दैन ?हो यो भनेको प्रहरीको अकर्मण्यता नै हो ।’

नाम नराख्ने शर्तमा पर्सा प्रहरीको कमाण्डर भइ अवकास प्राप्त गरिसकेका एकजना पूर्वअधिकारीले प्रहरीे खाली राजश्व संकलनतर्फ ध्यान दिएका कारणले गम्भीर प्रकृतिको अपराधमा बढोत्तरी हुने गरेको बताए ।
उनका अनुसार प्रहरीले जघन्य प्रकृतिका अपराधबाहेक अरु सबै विषयलाई दोस्रो प्राथमिकतामा राखेर काम मात्रै गरे धेरै हदसम्म अपराध नियन्त्रणमा आउँछ । त्यसकारण आफ्नो पहिलो प्राथमिकतामा काम गर्न प्रहरीलाई उनको सुझाव छ ।


सम्बन्धित समाचार