Logo

फाइल तस्बिर

२८ भदौ,वीरगञ्ज । वीरगञ्ज बाल सुधार गृहमा उत्पन्न विवाद करिब ४८ घण्टापछि मत्थर भएको छ । जिल्ला प्रशासन कार्यालय र आन्दोलनरत बाल कैदीबन्दीहरुबीच भएको मौखिक सहमतिपछि विवादमा ‘आइस–ब्रेक’ लागेको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बालकैदीहरुले उठाएका मागको सम्बोधन गर्ने सहमति जनाएपछि त्यहाँको अवस्था साम्य भएको हो ।विवाद साम्य बनाउँन जिल्ला प्रशासन कार्यालयले भक्तपुर बाल सुधारगृहबाट ल्याइएका १८ जना कैदीबन्दीमध्ये १५ जनालाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेपछि विवाद सुल्झेको पर्सा प्रहरीले जनाएको छ । अन्य तीन जनालाई भने आन्दोलनरत पक्षहरुकै सहमतिमा बाल सुधार गृहमा राखिएको पर्सा प्रहरी बताउँछन् ।

बाल सुधार गृहका आन्दोलतरत पक्षले नाइके परिवर्तन, शौचालयको व्यवस्था, सुधार गृहको व्यवस्थापनसहितका समस्या समाधन गर्न प्रशासनसंग माग गरेको थियो । यसको साथै बाल सुधारगृहमा क्षमताभन्दा बढी बाल कैदीबन्दी राखिएको भन्दै क्षमता अनुसार बालकैदीहरू राख्न उनीहरुको माग छ । किनकी क्षमताभन्दा बढी बालकैदीहरू राखिएका कारण दैनिकरूपमा पाइने खाजा र खाना पनि कमसल पाइरहेको उनीहरुको दुःखेसो थियो।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आन्दोलनरत पक्षले उठाएको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि अवस्था सामान्य भएको हो ।
प्रमुख जिल्ला अधिकारी रेग्मीले जिल्लास्तरबाट सम्बोधन हुन सक्ने समस्याको तत्कालै समाधान प्रक्रिया थाल्ने प्रतिबद्धतासमेत जनाएका थिए । यसबाहेक जिल्लास्तरबाट सम्बोधन हुन नसक्ने माग सम्बोधनका लागि आफूले केन्द्रसँग पहल गर्ने उनको प्रतिबद्धता छ ।

भदौ ८ गते भक्तपुर बाल गृहबाट ल्याइएका र पहिलेदेखि बस्दै आएका कैदीहरूको समूह आश्रित किशोरहरूको २ समूहबीच मंगलबार राति झडप भएको थियो ।भक्तपुरबाट सरुवा भई आएका कैदीहरूल वीरगञ्ज आएकै दिन आफूलाई अविलम्ब भक्तपुर नै फिर्ता पठाउनु पर्ने माग राख्दै आएका थिए ।

नभए विद्रोह गर्नेसमेत उनीहरूले चेतावनी दिएका थिए ।सुधार गृहका होल कमान्डर सुरज यादव र कमान्डर ललित भुजेलमाथि कुटपिट भएपछि २ समूहबीच झडप भएको हो ।
बाल सुधारगृहमा भदौ ८ गते आएका १८ जनासहित १५० जना बालकैदीहरू छन् ।


सम्बन्धित समाचार