Logo

२९ भदौ,वीरगञ्ज । राष्ट्रिय भूमि आयोगले मधेश प्रदेशसहित ७ वटै प्रदेशमा रहेका भूमिहीन दलित,सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलनको कार्य सुरु गरेको छ ।

आयोगले आज बाँकी रहेका प्रदेशहरुको हकमा दोस्रो पटक सूचना जारी गरेको छ । आयोगले जारी गरेका सूचनामार्फत कोशी,मधेश,बाग्मती,गण्डकी,लुम्बिनी,कर्णाली र सुदूर पश्चिम प्रदेश गरी ७वटै प्रदेशमा निवदेनको आह्वान गरेको हो ।

भूमिहीन दलित,सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउनका लागि तोकिएको मितिभित्रै निवेदन दिन आयोगको आग्रह छ ।

आयोगको सूचनामार्फत भनिएको छ–‘राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि देहाय अनुसारका स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम भरी मिति २९भदौ बाट ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलनमार्फत पेस गर्नु हुन यो सार्वजनिक सूचना जारी गरिएको छ।’

मधेश प्रदेशका सप्तरी,सिरहा,महोतरी,सर्लाही,रौतहट,बारा र पर्सा विभिन्न पालिकाहरुसंग निवेदन माग गरिएको छ । प्रथम पटक र दोस्रो पटक सूचना जारी गर्दै मधेश प्रदेशका सबै जिल्लाहरुसंग निवेदन माग गरिएको छ ।

मधेश प्रदेशअन्तर्गतका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका, सिराहाको नवराजपुर गाउँपालिका, सिराहा नगरपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीबाट निवेदन माग गरिएको छ।

सर्लाहीको हरिपुर नगरपालिका, बह्मपुरी गाउँपालिका, रौतहटको पहोरा नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर, नगरपालिका, मौलापुर नगरपालिका, ईशानाथ नगरपालिका, बौधीमाई नगरपालिका, राजपुर नगरपालिका, बाराको आदर्श कोतवाल गाउँपालिका, प्रसौनी गाउँपालिकामा पनि निवेदन माग गरिएको छ ।

त्यस्तै पर्साका पोखरिया नपा,बहुदरमाइ नपा,सखुवाप्रसौनी गापा,बिन्द्धवासिनी गापा, कालिकामाइ गापा, जगरनाथपुर गापा,छिपहरमाइ गापा,धोबनी गापा, पटेर्वा सुगौली गापा,जिरा भवानी गापा र पटेर्वा सुगौली गाउँपालिकासंग पनि निवेदन मागिएको छ ।

आयोगले सात प्रदेशका केही जिल्लामा दोस्रोपटक ३५ दिने सूचना प्रकाशित गरेको छ।

हेर्नुहोस् सूचना


सम्बन्धित समाचार