Logo

२९ भदौ,वीरगञ्ज । मधेश प्रदेशमा बालबालिका एक्कासी हराउने डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ । प्राथमिक कक्षामा पढ्ने उमेरका बालबालिकाहरु अचानक बेपत्ता हुने घटना बढ्न थालेपछि चिन्ताको विषय बनेको छ ।
केही उदाहरण हेरौं ।
रौतहटका १५ वर्षीय सन्तोष साह भदौ ९ गतेदेखि हराइरहेका छन् । उनी काठमाडौंको पुतलीसडकबाट हराएको प्रहरीले जनाएको छ । त्यहाँको एक चिया पसलमा सहयोगीको रूपमा काम गर्ने उनी त्यो दिन पसलमा कसैलाई केही नभनी निस्किएका थिए । त्यसपछि उनी कोहीसंग सम्पर्क आएका छैनन् ।

सन्तोष परिवारको सम्पर्कमा नआएपछि यही बिहीबार उनको खोजविनका लागि बालबालिका खोजतलास समन्वयन केन्द्रमा निवेदन दिइएको छ ।
यसैगरी १९ चैतमा रौतहतबाट ५ वर्षीया पुजा कुमारी अचानक बेपत्ता भइन् । घरमा केही नभएको बेला किरण एकाएक बेपत्ता भइन् । साँझसम्म घरमा नफर्केपछि परिवारजन उनको खोजविनमा लाग्यो ।
यो घटनाको ठीक १ महिना पछाडि रौतहटबाटै अर्को बालिका पनि हराइन् । अर्थात् २० बैशाखमा ९ वर्षीया किरण नाम गरेको बालिका हराइन् । किरण पनि घरमा केही नभएको बेला हराएकी प्रहरी बयानमा पाइएको प्रहरी बताउँछ ।

यसरी अचानक बालबालिका हराउने यी त उदाहरणमूलक घटना मात्रै हुन् । यो संख्या लामै छ ।
प्रहरी मुख्यालयको रेकर्डमा मधेश प्रदेशमा पछिल्ला पाँच वर्षमा झण्डै ३ हजार जना बालबालिका हराएको उल्लेख छ ।
कुन वर्षमा कति ?

पछिल्ला पाँच वर्षमा मधेश प्रदेशबाट बालबालिका हराएको डरलाग्दो तथ्यांक छ । देश भरिबाट कुल बालबालिका हराउने संख्याको करिब एक तिहाइ मधेशबाटै बालबालिका हराएको विवरण छ ।
आर्थिक वर्ष ०७५/०७६ देखि चालू आर्थिक वर्षसम्मको असारसम्ममा मधेश प्रदेशबाटै मात्र २९३७ जना बालबालिका हराएको प्रहरी अभिलेख छ । जसमध्ये ९९३ जना फेला परेको प्रहरीले जनाएको छ ।
आव ०७५/०७६ मा ५३३, ०७६ /०७७ मा ४१, ०७७ /०७८ मा २, ०७८ /०७९ मा ८५९ र ०७९ /०८० को असार मसान्तसम्ममा १५०२ जना बालबालिका बेपत्ता भएको प्रहरी मुख्यालयको तथ्यांक छ । यो तथ्यांकमा सबैभन्दा चालू आर्थिक वर्षमै १५०२ जना बेपत्ता भएका छन् ।
बालिका बढी

बालबालिका हराउने घटनामा बालिका बढी संख्यामा बेपत्ता भइरहेको तथ्यांक पाइएको छ । प्रहरीको ५ वर्षे तथ्यांकमा मधेशबाट हराएको कुल बालबालिकाहरुमध्ये ८३ प्रतिशत भन्दा बढी बालिकाहरु हराएको उल्लेख छ ।

आव ०७५÷०७६ देखि चालू आर्थिक वर्षसम्मको असारसम्ममा कुल हराएको २९३७ जना बालिबालिकामध्ये बालिका मात्रै २४६२ जना हराएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ ।
यसरी बालिका मात्रै हराउने आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने आव ०७५/०७६ मा १२७४, ०७६ /०७७ मा २५, ०७७ /०७८ मा १, ०७८ /०७९ मा ७३८ र ०७९ /०८० मा १२७४ जना बालिकाहरु हराएको प्रहरी रेकर्ड छ ।

के भन्छ प्रहरी ?
आर्थिक अवस्था कमजोर भएका कारण पनि बालबालिका हराउने गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी मुख्यालयका प्रवक्ता कुबेर कडायतले अभिभावकको लापरबाही र आर्थिक समस्याका कारण यस्तो घटना भइरहेको जनाए । प्रवक्ता कडायत भन्छन्, ‘आर्थिक अभाव र घरयासी समस्याले बालबालिका घर छोड्ने गरेको पाइएको छ,बा–आमाबाहेक अन्य आफन्तसँग बस्ने र अभिभावक नभएकाहरू धेरै हराउने गरेका छन् ।

’अर्को आफन्तमा रहेका बालबालिकाको आफन्तले ध्यान नदिने हुँदा घर छोडेर हिँड्ने गरेको उनी बताउँछन् । त्यसको बाबजुद पनि प्रहरीको सक्रियताले हराएका बालबालिका छोटो समयमै फेला पर्ने गरेको प्रहरी प्रवक्ता कडायतको दाबी छ ।


सम्बन्धित समाचार